काठमाण्डू, ९ साउन– हिजो (बिहिबार) भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडे सिन्टीटारमा मृत फेला परेका किशोरी दिदीबहिनीको शव पोस्टमार्टमका लागि पठाइएको छ । बिहीबार बिहान सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका दिदीबहिनी मेनुका कँडेल र सिर्जना कँडेलको शव पोस्टमार्टमका लागि बिहीबार राति अस्पताल पठाइएको हो ।
राति ११ बजेति मृतकका आफन्त आएपछि घटनास्थल मुचुल्का गरेर शव पोस्टमाटर्ममका लागि काठमाण्डू मेडिकल कलेज दुवाकोट, भक्तपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी तथा प्रवक्ता ढुण्डीराज न्यौपानले जानकारी दिएका छन । पोस्टमाटर्मपछि मात्रै मृत्युको यकिन कारण खुल्ने बताइएको छ । मृत भेटिएका दिदीबहिनी भारतको मुम्बईबाट हराएको पाइएको छ ।
करिब तीन साताअघि भारतको मुम्बईस्थित मीरा भाइन्दरबाट हराएको उनका बाबुआमाले बताएका छन् । बिहीबार बिहान ६स्४५ बजेतिर प्रजापतिको इँटा र फलामले बनेको दुईतले घरको भुइँतलामा दिदीबहिनी मृत अवस्थामा भेटिएका थिए ।
नीहरूको घर सुर्खेत पञ्चपुरी नगरपालिका–८ रहेको प्रहरीले जानकारी दिएको छ । आफू बस्ने डेरा कोठाको प्यासेजमा नाइनलको डोरीले बाँधेर झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको थियो । फलामको डन्डीमा नाइनलको डोरी घुसाएर दुईतर्फको टुप्पाले घाँटीमा पासो लागेको अवस्थामा उनीहरू मृत भेटिएका हुन् ।
मृतक किशोरीका बाबुआमाले भने आफ्ना छोरीहरूलाई कसैले होटलमा काम लगाएको आरोप लगाएका छन् । मृत्युको खबर पाउनुपूर्व उनीहरू छोरीहरूको खोजी गर्दै भारतको एक अनलाइन टेलिभिजनमा पुगेका थिए ।