काठमाण्डू, ९ साउन–प्रधानमन्त्री केपी ओलीले पानी अभावमा धान रोपाईं हुन नसकेको तराई–मधेसका जिल्ला भ्रमणमा निस्कने भएका छन् ।
सामाजिक सञ्जला फेसबुकमार्फत ओलीले आफू शुक्रबार त्यसतर्फ जान लागेको जानकारी दिए । दुई दिन सुख्खाग्रस्त क्षेत्रका बासिन्दासँग भेटभाट र छलफल गर्ने उनले बताएका छन् । ओलीले दुई दिन महोत्तरी र बारामा बिताउनेछन् ।
‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ। हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ । आज महोत्तरी र बारा जाँदै छु । तराई–मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ,’ ओलीले लेखेका छन् ।
वर्षात कम हुँदा मधेसमा ४० प्रतिशत जमिनमा मात्र धान रोपाईं भएको छ । सोही कारण सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
प्रतिनिधिसभामा सांसदहरुले केही दिनयता लगातार मधेसमा खडेरीका कारण किसानले धान रोप्न नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।