
कठमाण्डू, २७ असार– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि आज मौद्रिक नीति सार्वजनिक गर्दैछ ।
बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकमा मौद्रिक नीतिको प्रस्तावमाथि प्रारम्भिक छलफल भएको थियो । आज बिहान फेरि बस्ने बैठकले नीति पारित गरी सार्वजनिक गर्ने तयारी भएको राष्ट्रबैंक अधिकारीहरुले बताएका छन् ।
नेपाल राष्ट्रबैंकको स्थापना २०१३ सालमा भए पनि नियमित रुपमा मौद्रिक नीति सार्वजनिक गर्न थालिएको २०२३ सालमा हो । राष्ट्र बैंकको इतिहासमा यो ५९औँ मौद्रिक नीति हो । आर्थिक वर्ष २०५९/६० देखि गभर्नरद्वारा नीति सार्वजनिक गर्ने अभ्यास जारी छ ।
गभर्नर विश्व पौडेलको कार्यकालको यो पहिलो मौद्रिक नीति हो । गभर्नर पौडेलले विगतमा राष्ट्र बैंकले सरकारको नीति र प्राथमिकतासँग समन्वय गर्दै काम गर्ने बताएका थिए । जसको प्रभाव नीति निर्माणमा देखिने अपेक्षा गरिएको छ ।
बिहीबारको सञ्चालक समितिको बैठकमा चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयन, देशको समग्र आर्थिक अवस्था, र अन्तर्राष्ट्रिय परिवेशबारे छलफल गरिएको थियो । आज सार्वजनिक हुन लागिएको नीति त्यही छलफलको निष्कर्षका आधारमा तयार पारिएको अनुमान गरिएको छ ।
राष्ट्र बैंकको यो नीति मुलुकभित्रको मुद्रा व्यवस्थापन, महँगी नियन्त्रण, बाह्य क्षेत्रमा हुने आम्दानी–खर्चको सन्तुलन कायम गर्नु र वित्तीय क्षेत्रको स्थायित्व सुनिश्चित गर्नुमा केन्द्रित हुने बताइएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशत मुद्रास्फीति सीमित गर्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकको मौद्रिक नीतिले यिनै लक्ष्यलाई सघाउने उद्देश्य राख्नेछ । त्यसका लागि करिब ११ प्रतिशतको कर्जा विस्तारको लक्ष्य लिने तयारी भएको जनाइएको छ ।
यसअघि राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मापदण्डको कार्यान्वयन अवधि एक वर्ष पछाडि सार्ने निर्णय गरेको थियो । साथै, साना कर्जामा समस्यामा परेकाहरूलाई दुई वर्षका लागि भाका सार्ने सुविधा पनि दिएको छ । यसले बजारमा तरलता बढाउन र निजी क्षेत्रलाई सक्रिय तुल्याउन सहयोग गर्ने विश्वास गरिएको छ ।
सरकारले बजेटमार्फत कार्यशील पुँजी प्रवाह बढाउने नीति लिएको सन्दर्भमा मौद्रिक नीति पनि लचिलो हुने सम्भावना रहेको देखिन्छ । पछिल्ला केही वर्षयता अर्थतन्त्रमा देखिएको सुस्तता हटाउन र आर्थिक गतिविधिमा गतिशीलता ल्याउन राष्ट्र बैंकको नीति निर्णायक बन्ने अपेक्षा गरिएको छ ।