इजरायली आक्रमणमा २२९ पत्रकारको मृत्यु

काठमाण्डु टुडे २०८२ असार २७ गते १६:५४ मा प्रकाशित

एजेन्सी– इजरायली आक्रमणमा हाल सम्म २२९ पत्रकारको मृत्यु भएको छ । प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक र फोटोग्राफरका रूपमा काम गरेका पत्रकार अहमद सलामा अबु आइशाको मृत्युको घोषणा भएपछि इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा मारिएका पत्रकारहरूको सङ्ख्या दुई सय २९ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

आज जारी गरिएको एक विज्ञप्तिमा गाजाको सरकारी मिडिया कार्यालयले मध्य गाजाको नुसिरात शरणार्थी शिविरको पश्चिममा रहेको अल–सवारा क्षेत्रमा रहेको आफ्नो घर बाहिर लक्षित इजरायली ड्रोन हमलामा अबु आइशा मारिएको पुष्टि गरेको छ । मिडिया कार्यालयले प्यालेस्टिनी पत्रकारहरूको ‘व्यवस्थित लक्षित र हत्या’ भन्दै कडा निन्दा गरेको छ । कार्यालयले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अरब पत्रकार महासङ्घ र विश्वभरिका सबै प्रेस र युनियन निकायहरूलाई गाजामा मिडिया व्यवसायीहरू विरुद्ध भइरहेको अपराधको निन्दा गर्न आग्रह गरेको छ ।

वक्तव्यमा मानव अधिकार सङ्गठनहरू र व्यावसायिक पत्रकारिता सङ्घहरूसँगै अन्तर्राष्ट्रिय समुदायलाई ‘प्यालेस्टिनी जनता विरुद्धको नरसंहारको अपराध’ भन्दै यस विरुद्ध निर्णायक कदम चाल्न आह्वान गरिएको छ । यसले गाजा पट्टीमा पत्रकारहरूको सुरक्षा गर्न तत्काल उपायहरू गर्न, मिडियाका कर्मचारीहरूलाई जानाजानी लक्षित गर्न रोक्न र अन्तर्राष्ट्रिय अदालतमा जिम्मेवारहरूलाई मुद्दा हालेर जवाफदेहिता सुनिश्चित गर्न पनि आह्वान गरेको छ ।

मानव अधिकार सङ्गठनहरू र संयुक्त राष्ट्रसङ्घका रिपोर्टहरूका अनुसार इजरायली सेनाले आक्रमणका क्रममा पत्रकार र मिडिया संस्थाहरूलाई जानाजानी लक्षित गरेको छ । चार सयभन्दा बढी पत्रकार घाइते भएका छन्, दर्जनौँ पक्राउ परेका छन् र गाजा पट्टीमा सञ्चालन हुने अधिकांश स्थानीय र अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरूको कार्यालयहरू ध्वस्त पारिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us