
काठमाण्डू, २५ असार– कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय संसद् भवन परिसरमा ड्रोन खसेको बताउँदै त्यसबारे सरकारको ध्यानकषर्ण गराएका छन ।
आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले गत २३ गते बेलुकी ९ देखि साढे ९ बजेको समयमा संसद् भवनको बायाँपट्टिको स्थानमा ड्रोन खसेको बताए । उक्त ड्रोन कहाँबाट आयो ? किन आयो ? भन्नेबारे उनले चासो राखेका हुन् ।
उनले भने, ‘०८२ साल असार २३ गते बेलुकी ९ बजेदेखि साढे ९ बजेको समयमा यही संसद्को बायाँपट्टि एउटा ठूलो ड्रोन आएर खस्यो भन्ने समाचार प्राप्त भयो’ सांसद खतिवडाले भने, ‘कहाँबाट आएको थियो ड्रोन ? के का लागि आएको थियो ? संसद्मा आएर खस्दासम्म संसद्ले थाहा पायो वा पाएन ?’ ड्रोनबाट विभिन्न सूचना लिने काम भएको र अन्तर्राष्ट्रिय रुपमा आतंकवादी गतिविधि समेत भइरहेको बेलामा उक्त विषय गम्भीर रहेको सांसद खतिवडाको भनाइ थियो ।
‘यस्ता विभिन्न ठाउँमा ड्रोनबाट सूचना लिने कामहरू भएको र अन्तर्राष्ट्रिय रुपमा आतंकवादी गतिविधि भइरहेको बेला यस्तो गम्भीर चासोको विषयमा के भएको हो ?,’ खतिवडाले प्रश्न गरे ।
मौसमका कारण राजमार्ग बन्द छन् । विद्युत्को हालत त्यस्तै छ । खानेपानीको समस्या देशव्यापी रुपमा त्यस्तै छ । यो बेला मल छैन । सिंचाइको अभाव छ । पानी नपरी बाढी आउँछ र ठूलो क्षति हुन्छ । यस्ता कुरामा सरकारको ध्यान जाओस् ।