काठमाण्डू, १५ असार– एमालेका महासचिव शङ्कर पोखरेललाई किसानलाई सरकारले करोडौँ अनुदान होइन मल,बीउ र उत्पादनमा उचित मूल्य दिन माग गरेका छन ।
आज (सोमबार) धान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै महासचिव पोखरेलले यस वर्ष अनियमित वर्षा र खडेरीको सम्भावना रहेकोले किसानलाई हुने ठुलो नोक्सानीबाट जोगाउन सरकारकै अग्रसरतामा कृषि बिमाको पूर्ण सुनिश्चित गर्नुपर्ने पनि बताएका छन ।
पोखरेलले कृषिमा २ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने किसानलाई अनुदानको घोषणा गर्नु नराम्रो नभए पनि आम किसानको भन्दा बढ्ता हैसियतको यो घोषणाले साना किसानलाई कुनै प्रभाव नपर्ने पनि उनले बताए । उनले भने, ‘सरकारले कृषिमा २ करोड रुपैयाँभन्दा बढी लगानी गर्नेहरूका लागि आकर्षक अनुदानको घोषणा गरेको छ ।
व्यावसायिकता र आधुनिकीकरणका लागि यो कदम आफैँमा नराम्रो होइन, ‘तर प्रश्न उठ्छ के आम नेपाली किसानको हैसियत त्यति ठुलो लगानी गर्न सक्ने बनेको छ र ?’ कृषि र किसानको प्रशंसा गर्दै महासचिव पोखरेलले भौतिक रूपमा संसारले जतिसुकै समृद्धि हासिल गरे पनि मानव जीवनका लागि खाद्यान्नको महत्त्व नघटेको उनले प्रस्ट पारेका छन् ।
सरकारले यो वास्तविकतालाई स्विकार्नुको साटो अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि र मझौला र किसान अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको स्पष्ट पारेका छन् ।