भावी नेतृत्व हत्याउन एमालेमा विद्याको पुनरावृत्ति, सदस्यता होल्ड र विधान संशोधनको रणनीतिमा ओली

काठमाण्डु टुडे २०८२ असार १२ गते १८:३८ मा प्रकाशित

काठमाण्डू, १२ असार– पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी सक्रिय राजनीतिमा फर्कने तयारी गरेसँगै एमालेमा हलचल भएको छ । यही तयारीकाबीच पूर्व राष्ट्रपति भण्डारीले ३ असारमा प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब एक घण्टा ‘वान अन वान’ भेट गरिन् । तर, उक्त भेट सौहार्दपूर्ण नभई हालसम्मकै तीतो संवादमा परिणत भएको एमाले नेताहरुको दाबी छ ।

भण्डारीले ओलीसँग एमालेको आगामी महाधिवेशनमा नेतृत्वका लागि आफू प्रतिस्पर्धामा उत्रन लागेको जानकारी दिँदै सहयोग मागेकी थिइन् । तर, ओलीले ‘केका लागि सहयोग गर्नुपर्छ ?’ भनी प्रतिक्रिया दिँदा दुवैबीचको सम्बन्ध चिसिएको एमाले नेताहरू बताउँछन् ।

ओलीले आफू एक कार्यकाल अझै अध्यक्ष हुने बताउँदै भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नचिताउनु राम्रो हुने सुझाव दिएका थिए । भेटपछि भण्डारीले आफू निकट नेताहरूलाई उक्त कुराकानीबारे जानकारी दिँदै ओलीले प्रस्ताव अस्वीकार गरेको बताएको स्रोतले जानकारी दिएको छ । उनी असार १४ गते मदन स्मृति दिवसको कार्यक्रमबाट राजनीतिमा पुनः प्रवेशको घोषणा गर्ने तयारीमा छन् ।

तर, ओली पक्ष भने भण्डारीको पुनरागमन रोक्ने रणनीतिमा जुटेको देखिन्छ । एमाले केन्द्रले भण्डारीको पार्टी सदस्यता नवीकरण प्रक्रिया होल्डमा राखेको छ । काठमाण्डू जिल्ला कमिटीले सिफारिस गरे पनि केन्द्रले सदर गरेको छैन । ओली पक्षले पूर्वराष्ट्रपतिको सदस्यता केन्द्रबाट मात्र नवीकरण हुनुपर्ने बताउँदै प्रक्रियाविपरीत भएको भन्दै रोक लगाएको छ ।

यसैबीच विधान संशोधनको तयारीसमेत भइरहेको छ । विष्णु पौडेलको संयोजकत्वमा बनेको समिति साउन १ मा विधान संशोधन प्रस्ताव सचिवालयमा पेस गर्ने तयारीमा छ । नयाँ संशोधनमार्फत् ‘पूर्वराष्ट्रपति वा सम्मानित पदमा पुगिसकेकाहरू पार्टी सदस्य बन्न नपाउने’ प्रावधान राख्ने तयारी छ । जसले भण्डारीको पुनरागमनमा थप अवरोध ल्याउनेछ । भण्डारी पक्ष भने एमालेमा पूर्व व्यवस्था गरिएको ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा कायम राख्नुपर्ने पक्षमा छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेसहितका नेताहरू यस अभियानमा सक्रिय छन् । ओली पक्ष भने उमेरहद र कार्यकाल सीमा हटाएर आफैँ अध्यक्षमा तेस्रो कार्यकालको तयारीमा छन् । यस्तो अवस्थामा एमालेभित्र भण्डारी र ओलीबीच नेतृत्वका लागि प्रतिस्पर्धा चर्कन सक्ने संकेत देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us