रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकाल सर्वोच्चमा

काठमाण्डु टुडे २०८२ असार १२ गते ११:५९ मा प्रकाशित

काठमाण्डू, १२ असार– आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा. मुकुल ढकाल सर्वोच्च अदालत पुगेका छन । ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रुपमा रहेको रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रुपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गरेका छन ।

न्यायाधीश कुमार रेग्मीको इजलासले उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । रास्वपाले महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित गरेका ढकालले आफूले मूलतस् दुईवटा माग गरेका छन । ‘पार्टीले कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीमा मनोनयन गरेको छ, मनिष झालाई प्रवक्ता बनाउने निर्णय गरेको छ’, उनले भने, ‘तर, निर्वाचन आयोगको अभिलेखमा आधिकारिक रुपमा म नै महामन्त्री र प्रवक्ता भएकाले त्यसलाई यथावत राख्नु भन्ने माग राखेर अदालतमा गएको हुँ ।’

तर, सर्वोच्च अदालतको वेवसाईटमा भने ढकालको रिट निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाएको देखिंदैन । त्यसबाहेक रास्वपामा आफूलाई महामन्त्रीको रुपमा काम गर्न नदिइएको भन्दै उनले महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने अर्को माग पनि राखेका छन ।

उनले त्यसका लागि रास्वपा, त्यसको केन्द्रीय कार्यसमिति, कारागारमा रहेका सभापति रवि लामिछाने महामन्त्रीमा नियुक्त कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा लगायतलाई विपक्षी बनाएका हुन ।

निर्वाचन आयोगले गतसाता ढकालका नाममा एक पत्र पठाइ उनी नै रास्वपाका महामन्त्री रहेको विवरण उपलब्ध गराएको थियो । निर्वाचन आयोगको सूचना सार्वजनिक भएलगत्तै रास्वपाले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us