प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

काठमाण्डु टुडे २०८२ असार १२ गते ७:४९ मा प्रकाशित

काठमाण्डू, १२ असार– प्रधानमन्त्री केपी ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाँदै छन् ।

उनले स्पेनको औपचारिक भ्रमणका क्रममा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा भाग लिनेछन् ।

प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेनस्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तरक्रिया गर्नेछन्। सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने दूतावासले जनाएको छ ।

स्पेन संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको पश्चिम युरोपेली मुलुक हो । करिब पाँच लाख पाँच हजार ९९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्पेनको जनसंख्या लगभग चार करोड ७४ लाख छ ।

सन् १९८६ मा युरोपेली सङ्घको सदस्य भएको स्पेनले सन् १९९५ मा सेन्जेनको सदस्यता लिएको थियो । स्पेनमा ८४ प्रतिशत स्पेनिस, एक दशमलव सात मोरक्कन, एक दशमलव दुई रोमानियन र अन्य जाति १२ दशमलव तीन रहेको तथ्याङ्क छ ।

स्पेनमा साना–ठूला गरी २० हजार फुटबल क्लब र १० लाख रजिष्ट्रर खेलाडी रहेको मुलुक हो । भाषाका हिसाबले स्पेनिस विश्वको चौथो धेरै बोलिने भाषा हो ।

नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् २०१८ मा मात्र त्यहाँ नेपालको आवासीय राजदूतावास स्थापना भएको हो । स्पेनको दूतावास यहाँ नभएकाले दिल्लीस्थित दूतावासले नेपाल हेर्दै आएको छ।

स्पेनमा विभिन्न पेसा तथा व्यवसायमा करिब २० हजार नेपाली संलग्न रहेको अनुमान छ । उनीहरूमध्ये विशेष गरी कृषि, होटल, पर्यटन र निर्माणलगायत क्षेत्रमा बढी संलग्न रहेको जानकारी दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us