आप्रवासीको प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा तनाव, २ हजार नेसनल गार्ड तैनाथ

काठमाण्डु टुडे २०८२ जेठ २५ गते १७:४२ मा प्रकाशित

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न २ हजार नेसनल गार्ड सेना तैनाथ गर्ने आदेश दिएका छन ।

अमेरिकामा यी विरोध प्रदर्शनहरू अवैध आप्रवासीहरूविरुद्ध गरिएको छापा मार्ने सरकारको कदम विरुद्ध भइरहेका छन । ‘हामी लस एन्जलसलाई सुरक्षित बनाउँदैछौँ,’ ट्रम्पका सीमा सल्लाहकार टम होमनले फक्स न्यूजलाई भने ।

शनिबार, क्यालिफोर्नियाको लस एन्जलिस सहरको प्यारामाउन्ट क्षेत्रमा ल्याटिनो समुदायका सदस्यहरू र अमेरिकी आप्रवासन एजेन्सी (आईसीई) का अधिकारीहरूबिच झडप भएको थियो । त्यसपछि प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो ।

यस हप्ता हालसम्म, आईसीई अपरेशनको क्रममा ११८ जनालाई पक्राउ गरिएको छ, जसमध्ये ४४ जनालाई शुक्रबार मात्र पक्राउ गरिएको थियो। क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले उक्त कार्यलाई ‘क्रूर’ भने । शनिबार, न्युसमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग लगभग ४० मिनेट फोनमा कुराकानी गरेका थिए ।

तर यस कुराकानीको कुनै विवरण सार्वजनिक गरिएको थिएन। यद्यपि, यसपछि ट्रम्पले आफ्नो ट्रुथसोसियल अकाउन्टमा यदि क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयरले आफ्नो काम गर्न सक्दैनन् भने संघीय सरकारले हस्तक्षेप गर्ने बताएका थिए । हाल, प्यारामाउन्टको वातावरण अलि शान्त भएको छ, तर प्रदर्शनकारी र प्रहरी बिचको भिडन्त अझै पनि जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us