अमेरिकाले देश निकाला गरेका ३७ नेपाली काठमाण्डू आइपुगे, मानव तस्कर खोज्दै प्रहरी

काठमाण्डु टुडे २०८२ जेठ २५ गते २१:४३ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– अमेरिकाले देश निकाला (डिपोट) गरेका नेपालीहरु काठमाण्डू आइपुगेका छन् ।

अमेरिकाले चार्टर्ड विमानमार्फत उनीहरुलाई आइतबार राति नेपाल ल्याइदिएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेका अनुसार अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली सवार जहाज काठमाण्डू विमानस्थलमा अवतरण गरेको छ । जसमध्ये ३२ पुरुष र ५ महिला छन् ।

विमानस्थल कार्यालयले डिपोट भएर आएकाहरुलाई प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाएको छ । तीमध्ये मानव तस्करलाई मोटो रकम बुझाएर अवैध (
तल्लो) बाटो अमेरिका पुगेकाहरु पनि रहेको बताइएको छ । व्युरो प्रवक्ता एसपी नरेन्द्र कुँवरले मानव तस्करमार्फत कोही अमेरिका गएको रहेछ भने छानबिन अघि बढाइने बताए ।

‘कोही मानव तस्करलाई पैसा बुझाएर अमेरिका गएका रहेछन् भने उजुरीका आधारमा छानबिन गर्छौं, उहाँहरु कसरी अमेरिका पुग्नुभएको थियो र कसरी फिर्ता गरिनुभयो भन्नेबारे सोधपुछ गरेका छाडिदिन्छौं’, कुँवरले भने ।

वैयक्तिक गोपनियताका कारण डिपोर्ट भएर आएकाहरुको परिचय भने गोप्य राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us