भारतसँगको मतभेद वार्ताबाट टुंग्याउन चाहेका छौँः परराष्ट्रमन्त्री खनाल

काठमाण्डु टुडे २०८३ असार १७ गते १४:५५ मा प्रकाशित

काठमाण्डू, १७ असार– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भू–भागको सिमाङ्कनका विषय टुङ्ग्याइसकेको जानकारी गराएका छन ।

आज (बुधबार) राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन । उनले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सिमाङ्कन नगरेको पनि बताएका छन । परराष्ट्रमन्त्री खनालले भने, ‘ती क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सिमाङ्कन गरेको छैन ।

त्यो सत्य हो, त्यो तथ्य हो । तर हामी स्पष्ट छौँ, ती भूभागहरू नेपालकै हो। हामीसँग ऐतिहासिक आधार, प्रमाण र नक्साहरू छन् ।’

यी दुई वटा मूल क्षेत्र भन्दा अन्य क्षेत्रमा आजको दिनमा पनि सीमा नापीसँग सम्बन्धित प्राविधिक समितिले काम गरिराखेको बताए। नेपालसँग भएको प्रमाणको आधारमा द्विपक्षीय कूटनीतिक वार्तामार्फत् भारतसँग रहेको मतभेद टुङ्ग्याउन चाहेको पनि बताएका छन ।

उनले भने, ‘यही कुरा मैले भारतका समकक्षीसँग भेट्दा पनि राखेको छु । हामीबीच भएका केही विभेद हुनु स्वाभाविक हो, तर ऐतिहासिक तथ्य प्रमाणको आधारमा हामी कूटनीतिक वार्ताबाट यो विवाद समाधान गर्न चाहन्छौँ भनेर मैले भनेको पनि छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us