स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः कांग्रेस सांसद राईविरुद्ध ३७ लाख बढी बिगो मागदाबी

काठमाण्डु टुडे २०८२ वैशाख ३० गते १७:४० मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– काठमाण्डूको कालीमाटीेस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध ३७ लाख बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

उनीविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो । सांसद राई यो सहकारीको सहसचिव समेत थिइन् । उनको पालामा सहकारीको रकम अपचलन भएको थियो ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डूमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाण्डू गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाण्डू जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजनमार्फत मंगलबार सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको छ ।

यो सहकारी ठगी प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिमाथि मुद्दा दायर भएको थियो । उनीपछि धरौटीमा रिहा भएका थिए ।

यसअघि सांसद राईलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता भएको थियो । सांसद राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us