लायन्स क्लबको क्याबिनेट मिटिङ नुवाकोटमा सम्पन्न

काठमाण्डु टुडे २०८२ वैशाख २९ गते १७:०० मा प्रकाशित

विदुर, २९ वैशाख– लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो क्याबिनेट मिटिङ शनिबार नुवाकोटको बट्टार बजारस्थित बाजेको सेकुवा हलमा भव्य रूपमा सम्पन्न भएको छ ।

लायन्स क्लबका सदस्य, लिडरहरू, तथा समाजसेवामा सक्रिय प्रतिनिधिहरूको सहभागितामा आयोजित यो कार्यक्रमले नुवाकोटमा पर्यटनको प्रोत्साहन, लायन्स क्लबको सेवा गतिविधिहरू र सामाजिक सरोकारमा नयाँ अध्याय थपेको छ । कार्यक्रमको प्रमुख आतिथ्य लायन्स क्लब इन्टरनेशनलका एलसिआइएफ एरिया लिडर लायन राजन लम्सालले गरेका थिए ।

कार्यक्रमको उद्घाटन पशुपतिनाथ मन्दिरका पूर्व मूलभट्ट प्रा.डा. बिष्णु दाहालको प्रमुख वक्तृत्वमा भएको थियो । प्रा. डा. दाहालले आफ्नो मन्तव्यमा जीवन दर्शन, मानवता र समाजसेवाका बारेमा गहन विचारहरू प्रस्तुत गरेका थिए ।

क्याबिनेट मिटिङमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, विदुर नगरपालिका वडा नं. ४ का अध्यक्ष निलम बाबु ढुङ्गेल लगायतका स्थानीय जनप्रतिनिधिहरू सहभागी रहेका थिए । स्थानीय सरकारले लायन्स क्लबको सेवाका कार्यहरूमा पूर्ण सहयोग र समर्थन जनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।

लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर लायन विनोद ढुङ्गानाको अध्यक्षतामा क्याबिनेट बैठक सम्पन्न भएको हो । कार्यक्रमका संयोजक र डिष्ट्रिक्ट कोर्डिनेटर अनुजकुमार श्रेष्ठले यो कार्यक्रम नुवाकोटको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “लायन्स क्लबका कार्यक्रमहरू मात्र समाजसेवा मात्रै होइन, यस्ता कार्यक्रमहरू पर्यटन, व्यवसाय र स्थानिय विकासमा पनि योगदान पुर्याउँछन्। यस कार्यक्रमले नुवाकोटलाई एक नयाँ रोनक दिएको छ,” श्रेष्ठले भने।

कार्यक्रममा ७ सयभन्दा बढी लायन लिडर र क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले एकसाथ स्थानीय बजारका परिक्रमा गर्दै, प्रभातफेरीको माध्यमबाट पर्यटन क्षेत्रको प्रचार गर्न योगदान पुर्याए ।

यस्तो सहभागिता र उत्साहजनक गतिविधिहरूले नुवाकोटको परम्परागत पर्यटनलाई वैश्विक स्तरमा प्रस्तुत गर्ने सम्भावना बलियो बनाएको छ । नुवाकोटको पर्यटन र सेवा क्षेत्रलाई नयाँ गति दिनका लागि यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण रहेको कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us