बुद्धले सामाजिक अन्यायविरुद्ध शान्तिपूर्ण क्रान्तिको सुत्रपात गरेः प्रचण्ड

काठमाण्डु टुडे २०८२ वैशाख २९ गते १५:०५ मा प्रकाशित

काठमाण्डू, २९ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हाँसिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको बताएका छन । आज (सोमबार) गौतमबुद्धको जन्मजयन्तीको अवसरमा शुभकामना, व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले भनेका छन्, ‘त्यसैले इतिहासको रथलाई पश्चगमनतर्फ होइन, प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि अग्रगमनतर्फ अघि बढ्नु आजको आवश्यकता हो ।’ बुद्धजयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण भएको पनि उनले बताए ।

उनले भने, ‘शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको पच्चीस सय ६९औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतमबुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गरेको भन्दै उनले प्रेरणाको स्रोत बनेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us