तत्काल लागू हुने गरी भारतसँग युद्धबिरामको सहमति भयोःपाकिस्तानी विदेशमन्त्री

काठमाण्डु टुडे २०८२ वैशाख २७ गते १८:२३ मा प्रकाशित

एजेन्सी– पाकिस्तानी विदेशमन्त्री इशाक डारले पाकिस्तान र भारतबीच युद्धबिरामका लागि सहमत भएको बताएका छन् ।
उनले तत्काल लागू हुने गरी युद्धविराममा गर्न दुई देश सहमत भएको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुको मध्यस्थतामा भारत र पाकिस्तान युबद्धिरामका लागि तयार भएको भन्दै त्यसको स्वागत गरेका थिए ।

पाकिस्तानी विदेशमन्त्रीले एक्समार्फत युद्धबिराम सहमतिबारे वजानकारी दिँदै पाकिस्तान आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा सम्झौता नगरी क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रयासरत रहेको उल्लेख गरे ।

बिहीबार राति भारत र पाकिस्तानले एकअर्काविरुद्ध मिसाइल र ड्रोन हमला गरे । शनिबार रातिबाट सुरु भएको लडाईं दिनभर नै जारी छ । द हिन्दूका अनुसार भारत प्रशासित जम्मु–काश्मिर क्षेत्रमा दिनभर नै विस्फोटनका आवाजहरु सुनिएका छन् ।

जम्मु–कश्मिरका अतिप्रभावित क्षेत्रका मनिसलाई अन्यत्रै स्थानान्तरण गरी बस्ती खाली गराउन थालिएको छ । बर्नालामा शनिबार राति ८ बजेदेखि आइतबारबिहान ६ बजेसम्म बत्ती निभाउन (ब्ल्याकआउट गर्न) निर्देशन जारी भएको छ ।

लुधियाना, फरिदकोट, राजस्थान, जोधपुर, जइसाल्मर श्रीगंगानगर, पोखरन, बार्मर लगायत जिल्लामा भारतीय प्रशासनले ‘रेड अलर्ट’ जारी गरेको छ । हिन्दूस्तान टाइम्सका अनुसार पाकिस्तानी आक्रमणको जवाफमा भारतले पाकिस्तानका ८ सैन्य र हवाइ अड्डा लक्ष्य गरेर आक्रमण जारी राखेको छ ।

शनिबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाका कर्नल सोफिया कुरेशीले पाकिस्तानी रडार, गोलाबारूद्ध भण्डारण गरिएको क्षेत्र र र कमान्ड सेन्टरलाई लक्ष्य गरी ८ स्थानमा आक्रमण गरिएको बताइन् ।

पाकिस्तानका रफिकी, मुरिद, चकाला, रहिम यार खान, सुक्कुर, चुनियन, पसुरूर र सियालकोटमा हवाइ र सैन्य अड्डाहरूमा आक्रमण गरिएको भारतीय सञ्चार माध्यले जनाएका छन् । त्यसको जवाफमा पाकिस्तानले भारतविरुद्ध शनिबारै अपरेसन बनयान–उल–मरसुसु घोषणा गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us