
काठमाण्डू, २७ असार– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिलाई लक्षित गर्दै शुक्रबारदेखि आईपीओ खुला गरिएको हो ।
कम्पनीले हालको पूँजी संरचनाको ४० प्रतिशत हिस्सा बराबरको २ करोड ३१ लाख मूल्यको २ लाख ३१ हजार कित्ता साधारण सेयर जारी गर्ने स्वीकृति पाएको छ । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २३ हजार ११० कित्ता सेयर निष्काशन गरिएको हो ।
नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि तोकिएको यो सेयरमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
आईपीओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । यसबाहेक, १ हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ ।
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले स्वस्तिक लघुवित्तलाई इक्रा एनपी इस्युअर रेटिङ बी एटदरेट प्रदान गरेको छ र जसले वित्तीय दायित्व समयमा पुरा गर्न संस्थामा तुलनात्मक रूपमा उच्च जोखिम रहेको संकेत गर्दछ ।
विदेशमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । यसका लागि एनसीएचएल प्रणालीको प्रयोग गर्न सकिने व्यवस्था छ ।