व्यस्तताका कारण मेरा सन्तान भएनन्ः ओली

काठमाण्डु टुडे २०८२ असार २७ गते १३:१७ मा प्रकाशित

काठमाण्डू, २७ असार– प्रधानमन्त्री केपी ओलीले व्यस्तताका कारण आफूले सन्तान जन्माउन नपाएको दाबी गरेका छन् ।

विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रम शुक्रबार ओलीले समय अभावले स्वास्थ्य परीक्षण गराउन नसक्न आफ्नो सन्तान नभएको बताए ।

ओली र राधिका शाक्य दम्पत्तिको सन्तान छैनन् । सन्तान जन्माउने मामिलामा आफूजस्तो व्यस्त नहुने उनले अरुलाई सुझाए । ‘मेरा सन्तान छैनन्, किन भएनन् भनेर उपचार पनि गराइन’ ओलीले भने, ‘यति साह्रो व्यस्त हुनु पनि भएन ।’

जनसंख्या वृद्धि दरमा लगातार कमी आएकामा चिन्ता व्यक्त गर्दै ओलीले २० वर्षभित्रै विवाह गरेर सन्तान जन्माउन युवालाई प्रेरित गर्नुपर्ने बताए ।

प्रजनन क्षमता उच्च भएकै उमेरमा सन्तान जन्माउनु उपयुक्त हुने उनको भनाइ छ । नेपालको संविधानले २० वर्षपछि विवाहको कानूनी प्रबन्ध गरेको चर्चा गर्दै ओलीले समयमै विवाह गरेर ३० वर्षभित्र तीन सन्तान जन्माइसक्न सबैलाई सुझाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us