
काठमाण्डू, २७ असार– राष्ट्रियसभा सस्य एवं पूर्वगृहमन्त्री वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।
एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकताको सहमति भएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता गौतमद्वारा जारी संयुक्त विज्ञप्तिमा आफूहरुबीच राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताको सहमति भएको उल्लेख छ ।
एकता घोषणा गर्न आगामी २ साउनमा राष्ट्रिय सभा गृहमा समारोह आयोजना गर्ने सहमति भएको विज्ञप्तिमा छ । नेकपा विभाजनपछि कुनै पनि समूहमा नलागेका गौतमले एकता अभियानका नाममा राजनीतिक गतिविधि गर्दै आएका छन् ।
यसअघि पनि उनी एकीकृत समाजवादीमा प्रवेशको अन्तिम तयारीमा थिए । तर, एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले मुलघरमा फर्कन आग्रह गरेपछि गौतम समाजवादीसँगको सहमतिबाट पछि हटेका थिए ।
पछि एमालेले उनलाई पार्टीमा आउने वातावरण बनाएन ।