प्रहरीका पूर्वअसईः जो ६८ वर्षमा कक्षा १२ को परीक्षा दिइरहेका छन्

काठमाण्डु टुडे २०८२ वैशाख २७ गते १४:३२ मा प्रकाशित

गोरखा, २७ वैशाख–बिहानको चिसो हावा, स्कुलको घन्टीले परीक्षा सुरु हुने संकेत दिन थालेको छ । पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक ढाका टोपी, निलो सुट, र विद्यालयको टाइ लगाएर लुइँटेलस्थित अमरज्योति जनता माविको परीक्षा केन्द्रमा प्रवेश गर्छन् । उनको गम्भीर र अनुशासित हाउभाउले सुरुमै थुप्रैलाई झुक्क्याउँछ – शिक्षक हुन् कि परीक्षार्थी ?

छेउछाउमा बसेका किशोर–किशोरी उमेरका विद्यार्थीहरूमाझ उनी बस्छन् । एउटै डेस्क, एउटै प्रश्नपत्र, तर जीवनको अनुभव भने  फरक ।

उमेरसँग होइन, इच्छाशक्तिसँग जितिएको यात्रा
लालबहादुर कुनै सामान्य परीक्षार्थी होइनन् । उनी २०५५ सालमा नेपाल प्रहरीको सहायक निरीक्षकबाट सेवानिवृत्त भइसकेका व्यक्ति हुन् । २०३५ सालमा प्रहरीमा भर्ती हुँदा उनी कक्षा ७ मा पढ्दै थिए । त्यो समयमा पढाइको रहर जागिरे जीवनसँग सँगै हिँड्न सकेन । तर, त्यसपछिका तीन दशक उनले पालेको फेरि पढ्ने सपना अहिले ६८ वर्षको उमेरमा साकार बन्दैछ ।

‘एसएलसी तेस्रो श्रेणीमा पास गरें । जागिर, परिवार, समाज – सबैले रोक्न खोजे पनि पढ्ने रहर कहिल्यै मरेन,’ उनी सम्झन्छन् ।

समान डेस्क, फरक अनुभव
उनी अहिले भवानी माध्यमिक विद्यालयमा शिक्षा संकायमा अध्ययनरत छन् । कक्षा ११ मा उत्कृष्ट १० मा पर्नु भनेको केवल सुरुआत थियो । अब कक्षा १२ को परीक्षा दिन उनले गरेको तयारी र आत्मविश्वास कुनै किशोर विद्यार्थीभन्दा कम छैन ।

‘अंग्रेजीमा अलिक अप्ठ्यारो भयो होला तर फेल त हुन्न,’ उनी मुस्कुराउँदै भन्छन्, ‘बाँकी विषय सजिलै छन् । आफ्नै शब्दमा लेख्न सक्छु ।’

घर, जागिर, संघर्ष, अनि पुनः कलम
चार छोरा, एक छोरी, र वैदेशिक रोजगारीमा रहेका परिवारको जिम्मेवारी पुरा गरेर अब उनले जीवनको अर्को अध्याय शुरु गरेका छन्, शिक्षाको सपना पूरा गर्ने ।

छोराछोरीहरू हुर्किए, परिवार ठिकठाक भयो, अनि बल्ल उनले कलम समाउने ढुक्क समय पाए । ‘अब त म आफ्ना लागि पढ्दैछु । जागिर खान होइन, ज्ञानका लागि,’ उनी भन्छन् ।

कक्षा १२ पछि कानुन विषयमा स्नातक पढ्ने उनको इच्छा छ । ‘कानुन पढ्ने चाहना पहिलेदेखि थियो । अब पढेपछि प्रमाणपत्र हेरेर आफूलाई गर्व गर्नेछु ।’

शिक्षकहरू भन्छन्  ‘पढ्न उमेरले छेक्दैन’
विद्यालयका शिक्षकहरू लालबहादुरलाई प्रेरणादायी  पात्रका रूपमाहेरिरहेका छन् । ढल्कँदो उमेरमा पनि अनुशासन, लगनशीलता र शुद्ध इच्छाशक्तिका साथ पढ्ने उनलाई देखेर ‘पढ्न उमेरले छेक्दैन’ भन्ने भनाइ फेरि एकपटक सार्थक बनेको छ ।

गोरखा भरि फैलिएको प्रेरणा
गोरखाबाट यस वर्ष कक्षा १२ को परीक्षामा ३,७५० विद्यार्थी सहभागी भएका छन्। तीमध्ये एक लालबहादुर विक पनि छन् – जो सायद उमेरका हिसाबले जेठा होलान्, तर उत्साह र आत्मबलका हिसाबले सबैभन्दा अगाडि ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us