
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धबिराम घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शनिबार ट्रम्पले अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान दुवै युद्धबिरामका लागि तयार भएको बताएका हुन् । अमेरिकाले मध्यस्थताका लागि दुवै देशसँग लामो वार्ता गरेको र त्यसले सकारात्मक निस्कर्ष दिएको उनको भनाइ छ । आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी लागेको ट्रम्पले उल्लेख गरेका छन् । दुवै मुलुकले महान वुद्धिमत्ता प्रयोग गरी राम्रो निर्णय लिएको भन्दै ट्रम्पले बधाई दिए ।
बिहीबार राति भारत र पाकिस्तानले एकअर्काविरुद्ध मिसाइल र ड्रोन हमला गरे । शनिबार रातिबाट सुरु भएको लडाईं दिनभर नै जारी छ । द हिन्दूका अनुसार भारत प्रशासित जम्मु–काश्मिर क्षेत्रमा दिनभर नै विस्फोटनका आवाजहरु सुनिएका छन् ।
जम्मु–कश्मिरका अतिप्रभावित क्षेत्रका मनिसलाई अन्यत्रै स्थानान्तरण गरी बस्ती खाली गराउन थालिएको छ । बर्नालामा शनिबार राति ८ बजेदेखि आइतबारबिहान ६ बजेसम्म बत्ती निभाउन (ब्ल्याकआउट गर्न) निर्देशन जारी भएको छ ।
लुधियाना, फरिदकोट, राजस्थान, जोधपुर, जइसाल्मर श्रीगंगानगर, पोखरन, बार्मर लगायत जिल्लामा भारतीय प्रशासनले ‘रेड अलर्ट’ जारी गरेको छ । हिन्दूस्तान टाइम्सका अनुसार पाकिस्तानी आक्रमणको जवाफमा भारतले पाकिस्तानका ८ सैन्य र हवाइ अड्डा लक्ष्य गरेर आक्रमण जारी राखेको छ ।
शनिबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाका कर्नल सोफिया कुरेशीले पाकिस्तानी रडार, गोलाबारूद्ध भण्डारण गरिएको क्षेत्र र र कमान्ड सेन्टरलाई लक्ष्य गरी ८ स्थानमा आक्रमण गरिएको बताइन् ।