
काठमाण्डू, २६ वैशाख– भारत सरकारको निर्देशनअनुसार सोसल मिडिया प्लेटफर्म एक्सले भारतमा सञ्चालित ८ हजारभन्दा बढी खाताहरूमा सम्बन्धित व्यक्तिको पहुँच रोक्ने तयारी गरेको छ । सरकारले पाकिस्तानसम्बन्धी सामग्रीहरूमाथि निगरानी कडा पार्दै यो नयाँ कदम उठाइएको बताइएको छ ।
एक्सको ग्लोबल गभर्नमेन्ट अफेयर्स टिमले जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ । ‘भारत सरकारबाट कार्यकारी आदेश प्राप्त भएको छ जसअनुसार भारतमा ८,००० भन्दा बढी खाताहरू ब्लक गर्न भनिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो आदेश पालना नगरेमा प्लेटफर्मका स्थानीय कर्मचारीलाई गम्भीर जरिवाना वा जेल सजायको जोखिम छ ।’
एक्सका अनुसार भारत सरकारको आदेशमा केही अन्तर्राष्ट्रिय समाचार संस्था र समाजका प्रतिष्ठित प्रयोगकर्ताहरू पनि समावेश छन् । यद्यपि एक्सले ब्लक गरिएका खाताहरू बारे जानकारी सार्वजनिक गरेको छैन । भारतीय सरकारले कुन–कुन पोस्टले कानुन उल्लङ्घन गर्यो भन्ने स्पष्ट आधार पेस नगरेको एक्सले स्पष्ट पारेको छ ।
भारत सरकारको आदेश माने पनि एक्सले यो कदममा फरक मत राखेको छ । ‘सम्पूर्ण खाताहरू ब्लक गर्नु अनावश्यक मात्र होइन, यो अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन हो,’ एक्सले भनेको छ ।
एक्सले यो निर्णय सहज नभए पनि भारतमा एक्स सञ्चालन गरिराख्नका लागि एक्स बाध्य भएको स्पष्ट पारेको छ । ‘भारतमा एक्स सक्रिय राख्नु नागरिकको सूचना पहुँचको अधिकारका लागि आवश्यक’ भएकोले यस्तो कदम चालिएको एक्सले जनाएको छ ।