जबरजस्ती करणीका आरोपी पूर्वमेयर ५ महिनादेखि अस्पतालमै

काठमाण्डु टुडे २०८२ वैशाख २५ गते १५:५२ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएका झापाको विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी ५ महिनादेखि अस्पतालमै रहेका छन ।

आफ्नै घरमा घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा २४ मंसिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा बस्दै आएका छन । ‘पीडितले अदालतमा गरेको बयान, उनको स्वास्थ्य परीक्षण प्रतिवेदन, प्रहरी कहाँ परेको जाहेरी दर्खास्त र विभिन्न व्यक्तिहरूको घटना विवरण कागज’ लगायतलाई आधार मान्दै जिल्ला अदालत, झापाले २२ पुस २०८१ मा उनी निर्दोष हुन् भन्न सकिने अवस्था नरहेको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर, अहिलेसम्म एक दिन पनि उनले न हिरासत न थुनामा बस्नु परेको छ । प्रहरीका अनुसार, उनी विर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजको क्याबिनमा बसिरहेका छन् । भेटघाट गर्न जानेका लागि पनि सहज प्रबन्ध रहेको प्रहरी अधिकृतहरू जानकारी दिएका छन । जिल्ला कारागार झापाका जेलर रेवन्त भट्टराई भने अदालतले समेत स्वास्थ्यलाई कारण देखाउँदै उपचारको प्रबन्ध गर्न आदेश दिएकाले उपचारका लागि पठाइएको बताए ।

पीडित किशोरीको परिवारले भने जबरजस्ती करणी जस्तो गम्भीर मुद्दामा पनि यत्तिका समयसम्म आरोपित अस्पतालमै बसिरहँदा आफूहरूलाई असुरक्षा भएको बताएको छ ।

‘कहिले एक्कासि प्रेसर बढ्ने, कहिले घट्ने भइरहेको थियो’, भट्टराईले भने, ‘बीचमा सुधार भएको भन्ने कुरा थियो, कारागारमा ल्याउने आन्तरिक तयारी पनि गरेका थियौं, तर पछिल्लो समय भित्र आन्द्रातिर पनि समस्या देखिएको भन्ने आएको थियो ।’ पीडित किशोरीको परिवारले भने जबरजस्ती करणी जस्तो गम्भीर मुद्दामा पनि यत्तिका समयसम्म आरोपित अस्पतालमै बसिरहँदा आफूहरूलाई असुरक्षा भएको बताएको छ ।

‘अदालतमा बयान दिन जानुछ, लामो कानुनी प्रक्रिया अझै बाँकी छ, तर पीडक चाहिँ यत्तिकै रहँदा त्यसले झन् कति मानसिक यातना होला ’, किशोरीका एक आफन्त प्रश्न गर्छन् । पूर्वी सीमा नाका काँकडभिट्टाबाट उद्दार गरिएकी १५ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई पक्राउ गरेको थियो ।

सीमामा रहेर चेलिबेटी बेचबिखनविरुद्ध काम गरिरहेको संस्था किन नेपालले शंकास्पद लागेर बालिकालाई सोधपुछ गरेको थियो । त्यसक्रममा उनले आफू विर्तामोड नगरपालिकाका पूर्वमेयर शिवाकोटीको घरमा बस्ने गरेको तर, पटकपटक करणी भएपछि भागेर हिँडेको बताएकी थिइन ।

कलेज ड्रेसमै रहेकी उनले शिवाकोटीबारे बताएपछि संस्थाले इलाका प्रहरी कार्यालय, धुलाबारी लगेको थियो । त्यहाँ महिला प्रहरीसँग पनि उनले त्यही अनुसारको बयान दिएपछि इलाका प्रहरी कार्यालय, अनारमनी पठाइएको थियो । बुबाआमा नभएका पीडितलाई घरको काम गरिदिने र पढाइदिने शर्तमा शिवाकोटीले घरेलु कामदारका रूपमा राखेका थिए ।

घरमा रहेका बेला आफूलाई करणी गरेको पीडितको प्रारम्भिक बयान थियो । त्यसपछि इलाका प्रहरी कार्यालय, अनारमनीले उनलाई पक्राउ गरेको थियो । शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us