काठमाण्डु, २१ भदौ– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभालाई प्रतिवेदन बुझाउने भएको छ ।
शनिबार साँझ सिंहदरबारमा बसेको समिति बैठकले टुंगिन बाँकी विषयमा दलहरुबीच थप छलफल आवश्यक रहेको सुझावसहित संविधानसभालाई प्रतिवेदन बुझाउने निर्णय गरेको हो ।
सभापति बाबुराम भट्टराईले पूर्वनिर्धारित कार्यतालिका अनुसार माघ ८ गते नै
संविधान जारी गर्ने प्रतिबद्धतासहित टुंगिन बाँकी विषयमा थप छलफल आवश्यक रहेको सुझावसहित प्रतिवेदन बुझाउने प्रस्ताव बैठकमा गरेका थिए ।
एकीकृत माओवादीले सहमतिमै संविधान जारी गर्नुपर्ने भन्दै संविधान लेखन कार्यतालिका परिमार्जन गर्नुपर्ने बताउँदै आएको छ । सत्तारुढ काँग्रेस–एमाले भने सहमति नजुटेका विषय संविधानसभाले प्रक्रियामार्फत लगाउनुपर्ने अडानमा छन् ।
संविधानसभालाई पठाउने प्रतिवेदनमा समितिले अहिलेसम्म भएका बैठक, सदस्यहरुको उपस्थिति, उपसमितिहरु, तिनको संरचना र कामकारबाही उल्लेख गरेको छ । प्रतिवेदनमा अहिलेसम्म टुंगो लागेका र टुंगो लाग्न बाँकी विषयहरु पनि उल्लेख गरिएको छ ।