
काठमाण्डू, १७ वैशाख– अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधिसभाले केही नेपाल ऐन संशोधन विधेयक पारित भएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन ०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ । यसलाई बदलेर केही नेपाल ऐन संशोधन विधेयकमार्फत १० वर्ष बनाइएको हो । प्रचलित ऐनको दफा ५४ मा चालक अनुमतिपत्रको वैधता सम्बन्धी व्यवस्था छ ।
दफा ५४ को उपदफा ३ मा भनिएको छ, ‘चालक अनुमतिपत्र दिइएको मितिले पाँच वर्षसम्म बहाल रहनेछ ।’ प्रचलित व्यवस्थामा संशोधन गर्दै विधेयकमा भनिएको छ, ‘ दफा ५४ को उपदफा ३ मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दहरूको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्दहरू राखिएका छन् ।’ यो प्रस्तावसहितको विधेयक प्रतिनिधिसभाबाट पारित भएको हो ।
पारित विधेयक अनुसार नवीकरण गर्दा पनि दश वर्षका लागि नवीकरण हुनेछ । यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ल्याएका थिए ।