
काठमाण्डू, १२ वैशाख– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताधारीको गलत आचरणले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि कालोबादल मडारिएको दाबी गरेका छन ।
आज (शुक्रबार) बाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभामा शुक्रबारको बैठकमा बोल्दै केसीले सत्तासिन दलहरूले आफ्नो आचरण सुधार नगर्दा लोकतन्त्र, गणतन्त्रमाथि चौतर्फी हमला भएको दाबी गरेका छन । उनले जनताको लामो संघर्ष र ठूलो बलिदानपछि लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता प्राप्त भएको बताए ।
‘राजतन्त्रको कालमा सत्ताको रसस्वादन गरेकाहरूले त त्यसको विरोध गरिरहेकै हुन्छन्, अहिले हिजो लडेकै जनतामा पनि असन्तुष्टि देखिन्छ,’ उनले भने, ‘यसको मुख्य कारण सत्तासिनहरूको गलत आचरण हो । ’ ०४६ साल र ०६२–०६३ को जनआन्दोलन दबाएकाहरूलाई कारबाही नहुँदा पनि तिनले टाउको उठाउन पाएको पनि उनले बताएका छन ।
सांसद् केसीले भ्रष्टाचारीलाई सत्ताले संरक्षण गरिरहँदा पनि जनतामा आक्रोश बढ्दै गएको भन्दै उनले दलहरूले आफूलाई बदल्न जरुरी रहेको बताए । उनले भने, ‘आफूले भ्रष्टाचार गरेको छ, भ्रष्टाचारीलाई सत्ताले संरक्षण गरेको छ । यो लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधि हो । आफैंले यस्ता गतिविधि गरेपछि जनतालाई कसरी सम्झाउन सक्नुहुन्छ ? त्यसैले आफूलार्इ बदल्न जरुरी भयो,’ उनले भने ।
अध्यक्ष केसीले गणतन्त्रमाथि कालोबादल मडारिएको भन्दै रक्षा गर्न परिवर्तनकारी सबै दल एकठाउँमा आउनु पर्ने धारणा राखे । ‘अहिलेको गणतन्त्रमाथि कालोबादल मडारिएको छ ।
त्यसैले लोकतन्त्र गणतन्त्रको रक्षा गर्न सबै एकठाउँमा आउनुपर्छ,’ उनले भने, ‘हाम्रै कारणले लोकतन्त्र, गणतन्त्र सकियो, धर्मनिरपेक्षता खोसियो भने हामीले कसलाई दोष लगाउने रु त्यसैले हाम्रोबीचमा जतिसुकै मतभेद रहे पनि लोकतन्त्र, गणतन्त्र जोगाउन एकताबद्ध हुनुको विकल्प छैन ।’