
काठमाण्डु, २१ भदौ– कांग्रेस सभापतिमा सुशील कोइरालाले झन्डै चार वर्ष बिताएका छन् । तर उनको सुस्त र अनिर्णित पार्टी सञ्चालन कार्यशैलीले पार्टी संगठन नै सिथिल भएको छ ।
चारवर्षअघि निर्वाचित केन्द्रीय समितिको कार्यकाल ५ असोजमा सकिँदैछ । तर, १२औं महाधिवेशन भएको चार वर्ष पुग्न लाग्दासम्म पनि कोइरालाले दुई महिनामै पूर्णता दिनुपर्ने केन्द्रीय समितिलाई पूर्ण बनाउन सकेका छैनन् । २०६७ असोजमा भएको महाधिवेशनबाट कोइराला सभापतिमा चुनिएका थिए ।
देशकै बूढो पार्टी कांग्रेसमा बूढाहरुकै बाहुल्यता छ । कांग्रेस केन्द्रीय समितिमा दुईतिहाई भन्दा बढी सदस्य ५० वर्षभन्दा माथिका छन् । विधानमा उमेर हद व्यवस्था नगरे अझै युवा पुस्ताले ठाउँ नपाउने नेताहरु बताउँछन् ।
कांग्रेस विधानमा केन्द्रीय समिति ८५ सदस्यीय हुने व्यवस्था छ । तर, अहिले ७९ मात्र छ । महाधिवेशनको चार वर्षसम्म सदस्य नथपिंदा समिति पूर्ण हुन नसकेको हो । अहिलेका समतिमा ५० वर्षभन्दामाथिका मात्र ५४ सदस्य छन् । ५० वर्षभन्दा मुनिका १२ जनामात्र छन् ।
६० वर्ष माथिका ३३ सदस्य छन् । त्यस्तै ७० माथिका ८ जना छन् । सभापति एवम् प्रधामन्त्री सुशील कोइराला ७४ वर्षका भए । वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल दुवैको उमेर ६८ पुग्यो । महामन्त्री कृष्णप्रसाद सिटौला ६४ वर्षका भए । कुलबहादुर गुरुङ, आमोदप्रसाद उपाध्यय ७९ वर्ष पुगे । बाबुराम राना ७८ वर्ष पुगेका छन् ।
नयाँ पत्रिकाबाट