काठमाण्डु, २१ भदौ- सरकारले प्रोत्साहन स्वरुप रकम उपलव्ध गराउने घोषणा गरेको भए पनि बारा जिल्लामा अन्तरजातीय विवाह गर्ने एक
दम्पति गाउँबाट निकालिएको छ ।
अन्तरजातीय विवाह गरेको आरोपमा नरही गाविस–८ का २१ वर्षीय नवीजान मियाँ धुनिया र सोही गाउँकी १९ वर्षीया नितम चौधरी गाउँबाट निकालिएपछि डेढ बर्षदेखि जिल्लाको गढिमाई नगरपालिका–४ स्थित सिमरामा डेराभाडामा लिएर बस्दै आएका छन् ।
तीन महिनाअघि नितमले एक छोरीको जन्मसमेत दिएकी छन् । विवाह गरेर घर फर्किएलगत्तै नितमका बाबु जनक र काका उमेश चौधरीले नवीजानलाई गाउँ छोडेर अन्यत्र जान र अन्यथा जे पनि हुन सक्ने धम्की दिन थालेपछि घरमा बस्न नसकेर दुवैले गाउँ नै छाडेका हुन ।
माथिल्लो जातको केटीसँग विवाह गरेको आरोपमा उनलाई गाउँ छोडन धम्काइएको हो । ‘ गाउँमा बस्न दिँदैनौ भन्दै धम्क्याउन थाले,’ नवीजानले भने, ‘त्रासले बस्नै नसकेपछि घर छोडेर डेरामा बस्नुपर्योक ।’