काठमाण्डु, २० भदौ- सभासदहरुले सरकारले हालै सभासद मनोनित गरेका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई
सभासदबाट बर्खास्त गर्न माग गरेका छन् ।
एन्फामा भएको भनिएको भ्रष्टाचार सम्बन्धमा छानबिन गर्न कागजात उपलब्ध गराउन सार्वजनिक लेखा समितिले दिएको निर्देशन अटेर गरकाले थापालाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन सभासदहरुले माग गरेका हुन् ।
समितिको गत भदौ ११ गतेको बैठकले तीन दिनभित्र आर्थिक प्रतिवेदन र खाताबारे जवाफ दिन निर्देशन दिएको थियो । तर, एन्फाले अहिलेसम्म ती कागजात जवाफ पेश गरेको छैन् ।
समितिको निर्देशन अवज्ञा गरेको भन्दै समितिसदस्यहरु उषा गुरुङ, टेकबहादुर बस्नेत, रामहरि खतिवडा, दीपक बोहरा, आनन्दप्रसाद ढुङ्गाना, पार्वती चौधरीलगायतले थापालाई निलम्बन गर्नुपर्ने माग गरेका थिए ।
भ्रष्टाचार आरोप लागेका व्यक्तिलाई सभासद बनाएको भन्दै थापाको आलोचना हुँदै आएको छ । थापालाई राप्रपा नेपालको सिफारिसमा मन्त्रिपरिषदले मनोनित गरेको थियो । देशबाहिर रहेका थापाले अझै सथपसमेत लिएका छैनन् ।