प्रमुख तीन दलबीच सिंहदरबारमा चर्काचर्की, राजनीतिकसभा अन्यौलमा

काठमाण्डु टुडे २०७१ भदौ २० गते १३:२५ मा प्रकाशित

काठमाण्डु, २० भदौ– संविधानका अन्तरवस्तुमा सहमति जुटाउनेबारे प्रमुख दल सहमतिनजिक आएको भनिएकै बेला प्रमुख तीन दलका hihglavel-with-33-dalनेताबीच शुक्रबारको बैठकमा चर्काचर्की भएको छ ।
संविधानका अन्तरवस्तुमा सहमति जुटाउन शुक्रबार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक विवादका कारण बिनानिष्कर्ष सकिएको हो ।

काँग्रेस, एमाले र एकीकृत माओवादीका नेताबीच सर्वपक्षीय राजनीतिक सभाअघि संविधानसभाको कार्यतालिका स्थगन गर्ने वा नगर्ने भन्नेबारे विवाद भएको छ । यसअघि बिहीबार बालुवाटारमा बसेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित चार दल बैठकले वैद्य माओवादीको मागअनुसार सार्वपक्षीय राजनीतिक सभा गर्ने सहमति भएको थियो । एकीकृत माओवादी गोलमेचअघि कार्यतालिका स्थगन गर्नुपर्ने अडानमा छ भने काँग्रेस–एमाले दुवै प्रक्रिया सँगै अघि बढाइनुपर्ने पक्षमा छन् ।
एमाओवादीको यस्तो प्रस्ताव
तीन दल बैठकमा एमाओवादीले गोलमेच सभाअघि संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा सहमति हुन नसकेका विवादित विषयलाई प्रक्रियामा लैजान नहुने बताएको छ । संविधान निर्माण कार्यतालिका संशोधन गर्नुपर्ने प्रस्ताव उसको छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी माघ ८ गते संविधान जारी गर्ने प्रतिबद्धता कायमै राखेर संविधान निर्माण कार्यतालिका संशोधन गर्न प्रस्ताव गरिएको बताए ।

उनले वैद्य माओवादीसँग गोलमेचमा सहमति गरेर कार्यतालिका अनुसार काम बढाउँदा राजनीतिक बेइमानी हुने बताए । ‘वैद्यजीहरुसँग गोलमेच सभामा जाने सहमति गर्ने र कार्यतालिकाअनुसार काम गर्ने हो यो अनैतिक हुन्छ,’ उनले काठमाण्डु टुडेसँग भने, हामीले प्रष्ट रुपमा भनेका छौं कि सहमतिअनुसार गोलमेचसभा नगरुञ्जेल संविधानसभाभित्रको प्रक्रिया रोक्नै पर्छ ।’
प्रक्रिया र गोलमेच सँगसँगै: काँग्रेस–एमाले
तर सत्तारुढ कांग्रेस– एमालेले भने एमाओवादी प्रस्ताव अस्वीकार गरेका छन् । गोललमेच सभा र संविधान लेखनको कार्यतालिका एकैसाथ अघि बढाइनुपर्ने उनीहरुको जिकिर छ । उनीहरुले समिति सभापति बाबुराम भट्टराईले हालसम्म सहमति भएका र विवादित विषय समेटेर शनिबार संविधानसभामा प्रतिवेदन बुझाउनुपर्ने तर्क गरेका छन् । संविधानसभा नियमावलीअनुसार संविधानका विवादित विषयमा सहमति जुटाउने समयसीमा शनिबार सकिंदैछ ।
अन्यौलमा राजनीतिक सभा
प्रमुख तीन दलबीचको विवादले सर्वपक्षीय राजनीतिक सभा अन्यौलमा परेको छ । तीन दलबीचको ववादले चार दलीय कार्यदलले शुक्रबार काम थाल्न सकेन । सर्वपक्षीय राजनीतिक सभाको विधि र प्रक्रिया तय गर्न भन्दै बिहीबार चारवटै दलबाट एक–एकजना रहने गरी ८ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us