गाेरखा, २० भदाै – गएराति अज्ञात समूहले नेपाल रेडक्रस सोसाइटी गोरखा शाखा कार्यालय भवनका कोठा तोडफोड गरी १६ हजार चोरी गरेको छ । गोरखा नगरपालिका–३ स्थित हरमटारीमा रहेको रेडक्रसको भवनका पाँचवटा कोठाको ताला फोरेर अज्ञात समूहले नगद चोरी गरेको शाखा सभापति यदुविलाश भट्टराईले जानकारी दिए ।
“जुनियर रेडक्रस सोसाइटीहरुले बाढीपहिरोपीडितहरुका लागि सङ्कलन गरी पठाएको राहत रकम चोरी भयो”, सभापति भट्टराईले भने, “भण्डारण कक्ष, सभाहल, सभापतिको कोठालगायत पाँचवटा कोठाको ढोका फोरेको अवस्थामा छ ।” भण्डारण कक्षको स्टोर दराज भने कुचिएको अवस्थामा रहेको उनले बताए । कार्यालयमा रहेका अन्य सामग्री ल्यापटप, कम्मललगायत कागजात भने जस्ताको त्यस्तै रहेको उनको भनाइ छ । बिहान ७ बजे घटना थाह पाएपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेको उनले बताए ।
गोरखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेश थापाले रेडक्रसमा चोरी भएकाबारे जानकारी आएको भन्दै अनुसन्धान थालेको बताएका छन् ।
गोरखा बजारमा केही दिनदेखि शृङ्खलाबद्धरुपमा चोरीका घटना भएको भन्दै प्रहरीले विशेष सुरक्षा टिम परिचालन गर्ने जनाएको छ । बुधबार राति नेकपा (एमाले)को पार्टी कार्यालयमा तोडफोडसहित ७०० चोरी भएको थियो ।