चितवन, २० भदौ– एकीकृत माओवादीले चितवनको भरतपुरस्थित जिल्ला कार्यालय बिक्रीको तयारी गरेको भन्दै बाबुराम भट्टराई पक्ष र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आपत्ति जनाएको छ ।
एमाओवादी संस्थापनले आफूहरुलाई थाहै नदिई ऐतिहासिक कार्यालय बेच्ने तयारी गरेको भन्दै भट्टराई पक्ष र वैद्य माओवादीले आपत्ति जनाएको छ ।
भतरपुर नगरपालिका–७ कृष्णपुरमा रहेको पाँच आनामा रहेको जग्गामा शान्ति प्रक्रियामा आएदेखि नै एमाओवादीको कार्यालय छ । एमाओवादीले लिलामीको जग्गा किनेर कार्यालय बनाएको थियो । पार्टी विभाजनपछि वैद्य माओवादीले कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयसहित देशभर पार्टीको नाममा रहेको सम्पत्तिको स्वामित्व पाउनुपर्ने दाबी गरेपछि चितवनको कार्यालय भागवण्डा गर्ने सहमति दुई पक्षबीच भएको थियो ।
भट्टराई पक्षको समानान्तर जिल्ला समिति अध्यक्ष रमेश रेग्मी र नेकपा–माओवादीका केन्द्रीय सदस्य अनिल शर्मा ‘बिरही’ ले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै कार्यालय बिक्री गर्न लागिएकामा आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा उक्त जग्गा नकिन्न चेतावनीसमेत दिइएको छ । विज्ञप्तिमा कार्यालय खरिद बिक्री गर्ने दुवै पक्षले लामो समयसम्म त्यसको हिसाब किताब इतिहासलाई तिर्नुपर्ने चेतावनी दिइएको छ ।
यसैबीच एकीकृत माओवादी चितवनका अध्यक्ष यमबहादुर परियारले कार्यालय बेच्ने कुनै तयारी नभएको दाबी गरेका छन् । काठमाण्डु टुडेसँग कुरा गर्दै उनले त्यसबारे आफूलाई केही थापा नभएको बताए । पार्टीको सम्पत्ति विवादबारे दुई पार्टीबीच केन्द्रमै छलफल जारी रहेकाले आफूहरुले कार्यालय ब्ेच्न लागेको भन्ने आरोपमा सत्यता नरहेको उनले बताए । यसैबीच एकीकृत माओवादीले समानान्तर कमिटी गठन गरेको भन्दै
भट्टराई पक्षीय समानान्तर कमिटीका जिल्ला अध्यक्ष रमेश रेग्मी र जिल्ला सदस्य विष्णुहरि तिमल्सिनालाई निलम्बन गरेको छ । पार्टी हितविपरीत गतिविधिमा लागेकाले उनीहरुलाई निलम्बन गरिएको परियारले बताए ।