काठमाण्डू, ७ फागुन– प्रहरीले काठमाण्डूको बल्खुको तरकारी बजार नजिक मृत भेटिएका व्यक्तिको हत्या आशंकामा ६ जनालाई नियन्त्रणमा लिएको छ ।
मकवानपुर घर भएका रामकृष्ण दाहाल मृत भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।
तीमध्ये २ जना बढी शंकास्पद देखिएको एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन । बल्खुस्थित मोहन बस्नेतको एक तले टिनको टहरमा डेरा गरी बस्ने दाहाल मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । मृतकको टाउकामा चोट लागेको पाइएको छ । हत्यामा आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ६ जना मृतकसँगै बस्दै आएका व्यक्तिहरू रहेको खुलेको छ ।
उनीहरू सबै ज्यामी काम गर्नेहरू हुन् । नियन्त्रणमा रहेका एक जनाले दाहालले बिहानीपख रगत वान्ता गरेको प्रहरी समक्ष बताएका छन् ।