नयाँ पुस्तालाई ओलीको पश्नः दौडमा झेल गरेर राजा हुने र सत्य बोल्नेको जिब्रो थुतेर पातमा राख्नेले सन्तानलाई दरबार बनाउनु र अहिले सडक, पुल, बिजुली, अस्पताल र विद्यालय बनाउनु एउटै हो र ?

काठमाण्डु टुडे २०८१ फागुन ७ गते १२:३६ मा प्रकाशित

काठमाण्डू, ७ फागुन–प्रधानमन्त्री केपी ओलीले जहाँनिया शासकहरुले आफ्ना सन्तानका लागि दरबार बनाएको विषयसँग अहिले भइरहेको विकास निर्माणको तुलना गर्न नमिल्ने बताएका छन् ।

७५औं प्रजातन्त्र दिवसका अवसरमा बुधबार टुंडिखेलमा आयोजित विशेष कार्यक्रममा ओलीले राणाले आफ्ना लागि दरबार बनाउनु र प्रजातन्त्रले जनताका लागि सडक, पुल, कुलो, बिजुली, व्यवसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनाउनुमा फरक छुट्याउन नयाँ पुस्तालाई आग्रह गरे ।

‘निरंकुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत हुन सक्छ ?’, ओलीले भने, ‘पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ, ‘प्रजातन्त्रले के गरेको छ र ? त्यसले त अझै राणाकालका दरबारहरुबाट निर्वाह गरिरहेको छ ।’ यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्ने उनको भनाइ थियो ।

निरंकुश शासनको कहालीलाग्दो रात पार गरी लोकतान्त्रिक अधिकार उपभोग गरिरहेको हाम्रो समाजले पूर्वाधार विकासमा तुलनात्मक फाड्को मारेको तथा सामाजिक सुरक्षाका प्रवन्धहरु विस्तार भएको, सामाजिक न्यायमा प्रगति भएको समाज, हुकुमी जन्जिरले बाँधिएको अवस्थाबाट सूचना–प्रविधिको सञ्जालमा जोडिएको ओलीले बताए ।

सूचना प्रविधिको प्रयोगमार्फत् आफूलाई निर्वाध अभिव्यक्त गर्ने स्वतन्त्रताको राजमार्गमा पुगेको उनले औंल्याए । स्वतन्त्रताको यही राजमार्गमा यात्रारत यी यात्रीहरुको विवेकले हुकुमी जन्जिरको औचित्य सावित गर्न सक्दैन भन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।

१०४ वर्ष लामो निरंकुश जहानियाँ तन्त्रको अन्त्य पछिको ७५ बर्षमा अनेक आरोहरअवरोह बीच छरिएको लोकतन्त्रको उज्यालोमा नै मुलुकलाई विपन्नबाट सम्पन्नतातिर, विकासोन्मुखबाट विकसित राष्ट्रतिर र असमानताबाट समानतातिर लैजान थालेको उनले स्मरण गरे ।

राष्ट्रको समृद्धि प्रत्यक्षतः जनताको सुख, सन्तुष्टि र खुशीसँग जोडिएको हुने भन्दै ओलीले सम्पन्नताको यात्रा अनवरत चलिरहने बताए ।

‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई मैले ‘परिपूर्ण लोकतन्त्र’ भन्ने गरेको छु । चलन चल्तीमा भनिने प्रजातन्त्रले ‘संगठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गर्यो । परिपूर्ण लोकतन्त्रले सबैलाई अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मानमा समान पहुँचको पैरवी गर्छ । समृद्धि भनेको समग्र विकास हो, सुख भनेको व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति हो’ ओलीले भने ।

बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामथ्र्यवीच लय मिलाएर संगतिपूर्ण ढङ्गले अगाडि बढिरहेको ओलीको भनाइ छ ।
लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिवी र भ्रष्टाचारलाई हटाउँदै हामी ती चुनौतीलाई चिर्ने विश्वास उनले व्यक्त गरे ।
सन् २०२६ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दीगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै भन्दै ओलीले सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरिरहेको र त्यसबाट समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सफल हुने दाबी गरे ।
फागुन ७ गतेले सम्पूर्ण नेपालीहरूलाई इतिहासप्रति गौरव गर्न, वर्तमानमा क्रियाशीलले जिम्मेवारी निर्वाह गर्न र भविष्यप्रतिको उत्तरदायित्वलाई सामाजिक सम्पत्तिका रुपमा पूँजीकृत गर्न अभिप्रेरित गरिरहने उनले बताए ।

नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा केही चैत २६, वैशाख ११, जेठ १५, र असोज तीनको निर्दलीयताको समाप्ती, लोकतन्त्र, गणतन्त्र र संघीयता सहितको संविधान प्राप्तिमा यी दिनको विशेष महत्व रहेको र प्रत्येक दिनले एकपछि अर्को गर्दै जनतालाई सार्वभौम बनाएर थप अधिकार दिलाएको स्मरण गर्दै ओलीले ती सबै दिनभन्दा युगान्तगारी महत्व फागुन ७ गतेले राख्ने बताए ।

‘२००७ साल फागुन ७ गते १ नेपालको इतिहासमा यस्तो सन्धिकाल हो, जसले हाम्रा पुर्खालाई हुकुमी शासनको क्रूर जन्जिरले बाँधिएको घना रातबाट स्वयंको विवेकले चल्ने स्वतन्त्रताको न्यानो विहानीमा पुर्याएको यातनादायी, कहालीलाग्दो तर साहसिक लामो यात्राको स्मरण गराउँछ ।
फागुन ७ गतेले हाम्रो, खेर गएको सिङ्गो शताव्दीको स्मरण गराउँछ । विज्ञान–प्रविधिमा संसारले फड्को मारिरहँदा नेपालमा भने जहानियाँ शासकको एउटा सनकी आदेशले अन्वेषणमा लाग्ने प्रतिभाको हात काटिएको घटनाको स्मरण गराउँछ । सत्य/तथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नव प्रवर्तनमा लाग्नेहरुको जात काडिएको जस्ता पिडादायी घटनाहरुको याद गराउँछ’, ओलीले भने, ‘आजको दिनले, शासकका पटाङ्गिनीमा बज्ने बिगुलको इसारामा मात्र घरबाहिर निस्कन र भित्र छिर्न पाइने निरङ्कुश परम्परा सम्झाउँछ । आफ्नै नागरिकले राजधानी काठमाण्डू छिर्न समेत ‘भिसा’ लिनु पर्ने र तानाशाही शासकका वैधरअवैध सन्तानका लागि भव्य महल ठड्याउन सयौं नागरिकलाई रैतान भन्दै झाराको उर्दी लगाएर जवरजस्ती श्रम शोषण गर्नेको इतिहास सम्झाउँछ ।’

इतिहासको पुरानो कालखण्डमा दौड प्रतिस्पर्धाबाट राजा छान्ने युग हरेको रुमरण गर्दै उनले तर, दौडमा समेत झेल गरी शासन हत्याउने र शासनाधिकार आफ्नै बंशमा राख्ने षडयन्त्रकारीहरुको कुरुप अनुहारलाई पनि यस दिनले सम्झना गराउँने बताए ।

‘यसरी फागुन ७ गतेले शासनको स्वरुप मात्रै फेरेको होइन, हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हाल्यो । योजनावद्ध विकासको थालनी ग¥यो । सार्वभौम समानताको आधारमा मित्रराष्ट्रहरुसँग कुटनैतिक सम्बन्धको शुरुवात गर्यो । समग्रमा फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्र्ष अघि बढायो’, उनले भने, यसरी हामी फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउँछौं । शहीदहरुको महान त्यागलाई सम्झन्छौं । नयाँ पुस्तालाई, उनीहरुको उज्ज्वल भविष्यको लागि, पुर्खाले भोगेको हण्डर, ठक्कर तथा बलिदान र समर्पणको महान–गाथा स्मरण गराउँछौं । प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधि मार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us