वायु प्रदुषणको भयावह अवस्था समाधानका लागि पहल गर्न एमाले सांसद बरालको माग

काठमाण्डु टुडे २०८१ फागुन ६ गते १६:०३ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– एमाले सांसद सुनिता बरालले स्वच्छ वातावरणमा बाच्न पाउने अधिकारबाट नेपाली नागरिक बंचित हुँदै गईरहेको दाबी गरेकी छन । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै एमाले सचेतक समेत रहेकी सांसद बरालले यस्तो बताएकी हुन ।

एमाले सांसद बरालले वायु प्रदुषणको अवस्था असाध्यै भयावह बन्दै गएको चिन्ता व्यक्त गरेकी छन । साथै सांसद बरालले पछिल्लो केहि साता यताको तथ्याङ्क हेर्दा औसत वायु गुणस्तर सुचकांक (एक्युआई)को अवस्था खराब रहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएकी छन ।

आजको बैठकमा बोल्दै एमाले सचेतक बरालले भनिन्, ‘ नेपालको संविधानले मौलिक हकमा नै राखेर स्वच्छ वातावरणको हकको प्रत्याभूति नेपाली नागरिकलाई गरेको छ ।

आज हामी स्वच्छ वातावरणमा बाच्न पाउने अधिकारबाट बंचित हुदै गईरहेको या असर परिरहेको वर्तमान अवस्था छ ।वायु प्रदूषणको अवस्था असाध्यै भयावह बन्दै गएको छ। पछिल्लो साताको तथ्यांकहरू हेर्दा नेपालको औसत वायु गुणस्तर सूचकांक (AQI) करिब १६५ थियो, जुन असाध्यै खराब अवस्था हो।

त्यसकारण हाम्रो देशका काठमाडौं लगायत विभिन्न सहरहरू अहिले रेड अलर्टमा रहेका छन यतिबेला । त्यसकारण प्रदुषित हावाका कारणले श्वासप्रश्वाससम्बन्धी रोग, ‘फोक्सोको क्यान्सर, मुटु रोग, उच्च रक्तचापजस्ता समस्याहरू बढिरहेका छन।

यसको समाधानका लागि नेपाल सरकार लगायत सम्बन्धित निकायहरुले सवारीसाधनको प्रदूषण नियन्त्रण, हरियाली क्षेत्रहरूको संरक्षण, र जनचेतनामा अभिवृद्धि गर्दै सम्बन्धित सरोकारवालाहरु सबैसंगको नेपाल सरकारको र सरोकारवाला व्यक्तिहरुको, नागरिक समाजको, गैर सरकारी संस्थाहरु सबै संग सहकार्य गरेर समाधानका लागि पहल गर्नका लागि सम्माननीय सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहान्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us