काठमाण्डु, १७ भदौ–अभिनेत्री श्वेता खड्काले प्रदर्शनको २५ औं दिनमा पहिलोपटक हलमा गई कोहिनुर हेरेकी छन् । पति श्रीकृष्ण श्रेष्ठको
निधनले शोकमा डुबेकी श्वेताको आँखा अझ ओबाएका छैनन् । उनी निर्माण युनिटले आयोजना गरेको कोहिनुरको विशेष शो मा परिवारका सदस्यको साहारामा हल पुगेकी थिइन् । उनले रोएरै फिल्म हेरिन् ।
श्रीकृष्ण र श्वेताले निर्माण गरेको कोहिनुर २३ साउनमा रिजिल गर्ने मिति तोकिएको थियो । बिहेको चार दिनपछि हनिमुन मनाउनका लागि उनीहरु भारत पसेका थिए । केही दिन घुमेर काठमाण्डु फर्किने र कोहिनुर रिलिज र पब्लिसिटीमा लाग्ने योजना उनीहरुको थियो । तर, श्रीकृष्ण एकाएक बिरामी परे । तीन हप्तासम्म उपचार गराउँदा पनि उनको स्वास्थ्यमा सुधार आएन ।
निमोनियाका कारण बिरामी परेका श्रीकृष्णलाई बोन क्यान्सर भएको डाक्टरले घोषणा गरे । यता, २३ साउनमा कोहिनुर रिलिज भयो । कोहिनुर रिजिल भएको एक दिनपछि अर्थात २४ साउनको राति उपचारको क्रममै दिल्लीको गंगाराम अस्पतालमा श्रीकृष्णको निधन भयो । दिवंगत पतिको शोकमा डुबेकी श्वेता परिवार र कोहीनुर युनिटको विशेष आग्रह र पहलमा सोमबार पहिलोपटक हलमा आएकी हुन् ।
पति निधनको पीडाले श्वेतालाई अझैसम्म पनि उत्तिकै पिरोलिरहेको छ । विशेष शोमा उनी दिदीको साहारामा आएकी थिइन् । पहिलाभन्दा निकै दुब्लाएकी श्वेताका आँखा सुन्निएका थिए । शो मा सबैका आँखा श्वेतामै केन्द्रित थिए ।
तर श्वेताको आँखाबाट भने अश्रुधारा बगिरहेका थिए । पुर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई,सञ्चारमन्त्री मिनेन्द्र रिजाल, पूर्वमन्त्री हिसिला यमी, अर्जुननरसिंह केसी, पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाललगायत श्रीकृष्णका परिवारका सदस्य तथा सञ्चारकर्मीको बाक्लो उपस्थित रहेको शोमा उद्घोषक नरेश भट्टराईले कोहिनुर युनिटका तर्फबाट आग्रह गरेपछि श्वेता स्टेजमा गएर सबैलाई नमस्कार मात्र गर्न सकिन् । कार्यक्रममा श्रीकृष्णको सम्झनामा मौनधारण गरियो ।
धन्यवाद ज्ञापन गर्ने क्रममा निर्देशक आकास अधिकारी भावबिह्वल भए । उनी बोले ‘यदि साँच्चै पुनर्जन्म हुन्छ भने श्रीजीको जन्म फेरि नेपाली फिल्म उद्योगमै होस् । यहाँ उहाँको खाँचो छ ।’ जब जब श्रीकृष्णको नाम उच्चारण हुन्थ्यो श्वेताको आँखा आँसुले भरिन्थ्यो । फिल्म सुरु भयो श्वेताका आँखाबाट अश्रुधारा बगिरहे । उपस्थित सबैले निकै शान्त र धैर्यताका साथ कोहिनुर हेरे । श्वेता भने पर्दामा हेर्दै रोहिरहिन् ।
नयाँ पत्रिकाबाट