आमासँग ऋण असुल्न छोराको अपहरण

काठमाण्डु टुडे २०७१ भदौ १७ गते १:२७ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– राजधानीमा एक युवकले आमाले लगेको ऋण नतिरी फरार भएपछि उनको छोराको अपहरण गरेका छन् । थानकोट बस्ने १९ वर्षीय सुशान्त पोखरेलले कलंकीबाट ११ कक्षा पढ्ने वीरेन क्षेत्रीको अपहरण गरेका हुन् ।
कलंकीको काष्ठमण्डप कलेज पढ्ने क्षेत्रीलाई पोखरेलसहित ५ जनाको समूहमा आएका अपहरणकारीले कलंकी चोकबाट जबर्जस्ती माईक्रोमा हालेर लगेका थिए । अपहरण भएको एक घण्टाभित्रै अपहरणकारीलाई पक्राउ गरिएको काठमाण्डु परिसर प्रमुख प्रहरी वरिष्ठ एसएसपी उत्तमकुमार कार्कीले बताए ।
अपहरितको उद्धार गर्दै त्यसमा संलग्न पोखरेलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कीर्तिपुरको चाँदनी चोकबाट माईक्रोबससहित नियन्त्रणमा लिइएको थियो ।

महानगरीय प्रहरी बृत कालिमाटीका प्रमुख नायव उपरीक्षक यज्ञविनोद पोखरेले क्षेत्रीकी आमाले ऋण लगेको पैसा नदिई फरार भएपछि उनको अपहरण गरेर पैसा उठाउने प्रयास गरेको बताए   ‘ऋण तिरेन भनेर कसैलाई जबर्जस्ती अपहरण गर्न पाइदैन’, उनले भने ‘कानुनी बाटो अपनाउनुको सट्टा कानुन हातमा लिने प्रयास गर्नु गलत हो ।’
पक्राउ पर्नेमा दोलखा मालिका गाविसका छिरिङ शेर्पा, मकवानपुरका अश्विन अधिकारी र ललितपुर लेलेका अमित श्रेष्ठ छन् । थानकोट बस्ने पोखरेलले एक महिना अघिदेखि ४ जना साथीहरुसँग मिलेर अपहरणको योजना बनाएका थिए ।

उनले पैसा उठेपछि अपहरणमा मद्धत गर्नेलाई पैसा दिने बताएका थिए प्रहरीका अनुसार माईक्रो चालकलाई अपहरणका लागि माईक्रो प्रयोगमा आउन लागेको कुरा थाहा थिएन ।

मान्छे राखेपछि उनीहरुले प्रहरी कार्यालयअघि रोके मारिदिने धम्की दिएपछि चालकले उनीहरुले भनेअनुसार अघि लगेका थिए । कीर्तिपुर चोभारको बाटो हुँदै छम्पी झारेर लेले पुर्यानउने योजना बनाएका उनीहरुलाई माईक्रो चालकले चोभारबाट छम्पी झर्ने बाटो बिग्रिएकाले माइक्रो नजाने बताएका थिए ।

अनि सौचालय गर्न जाने भन्दै गाडीबाट ओर्लिएर उनले माईक्रोबसका साहुलाई अपहरणका बारेमा जानकारी गराएका थिए । कलंकीबाट युवक अपहरणमा पर्ने बित्तिकै माईक्रोबसको नम्बर पत्ता लगाएको प्रहरीले साहुलाई झिकाएर चालकसंग कुरा गराउने प्रयास गरिरहेको थियो ।

बाटो बिग्रिएको बताएपछि उनीहरुले संतुगलको जंगलमा छाडेर फर्किन भनेका थिए । त्यताको पनि बाटो बिग्रिएको र उकालो धेरै भएको भन्दै चालकले नमानेपछि घुमेर जाने भन्दै आउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us