काठमाण्डु, १६ भदौ- एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई आफ्नो पेवा बनाउन खोजेको आरोप लगाएका छन् ।
संविधानका विवादित विषयमा पार्टी धारणा तय गर्न सोमबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा उनले सभासद् सिफारिसमा एकलौटी गरेको ओलीले पार्टीलाई पेवा बनाउन खोजेको बताए । उनले पार्टीलाई कसैकै पेवा बन्न नदिने बताए ।
आन्तरिक शक्ति सन्तुलनका आधारमा मिलेर जान तयार नभए भिड्नका लागि तयार रहन उनले ओलीलाई निम्ता दिए । ‘मिलेर जानुहुन्छ कि भिडेरै जाने चाहना छ ? ओलीलाई नेपालको प्रश्न थियो, ‘भिडेरै जाने मनस्थिति हो भने म पनि भिड्न तयार छु ।’
अध्यक्ष ओली र महासचिव ईश्वर पोखरलले पार्टीको भागमा परेको मन्त्रिपरिषदले सिफारिस गर्ने ८ सभासदमा एकलौटी गरेको भन्दै नेपालपक्ष आक्रोशित बनेको छ ।
सो पक्षका सचिव योगेश भट्टराईले सभासद, संसदीय समतिका सभापति र सुकुम्बासी आयोगमा गरिएको सिनयुक्तिप्रति आपत्ति जनाउँदै अध्यक्ष ओलीलाई लेखेको पत्र शनिबार मुख्यालय बल्खुमा दर्ता गराएका थिए ।