
काठमाण्डु, १६ भदाै – प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई क्यान्सरले पनि केही गर्न नसक्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्राकृतिक प्रकोपपीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने राहत रकम ग्रहण गर्दै उनले भने,‘मलाई क्यान्सरले पनि केही गर्न सक्दैन । मैले नै क्यान्सरलाई खाइसकेँ ।’
उनले देशको विकासका लागि काम गर्ने समय आएको पनि बताए । उनले ६० वर्षदेखि मुलुक अध्यारोमा रहेको बताउँदै विकासका प्रयासमा साथ दिन पनि आग्रह गरे ।
हालै नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाएको सद्भावलाई सदुपयोग गर्न पनि प्रधानमन्त्री कोइरालाले आग्रह गरे । ‘भारतले जुन सौहार्दता देखाएको छ, त्यसको सम्मान गर्नुपर्दछ र समानताको आधारमा सम्बन्ध विकसित गर्नुपर्दछ’ प्रधानमन्त्री कोइरालाले भने, ‘नेपाललाई तल पारेर गर्नु हुँदैन ।’
प्रधानमन्त्री कोइरालाले नेपालमा जनताले चाहेजस्तो राजनीतिक प्रणाली प्राप्त भइसकेको अबको समय विकास निर्माणमा लगाउनुपर्ने विचार व्यक्त गरे । ‘अब देशमा शान्ति, स्थायित्व, लोकतन्त्र र लोकतान्त्रिक संविधान आउँछ’ प्रधानमन्त्रीले भने ।’