प्रचण्डसामु काँग्रेस–एमालेका दुई सर्त

काठमाण्डु टुडे २०७१ भदौ १६ गते ३:३३ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– सत्तारुढ काँग्रेस–एमालले उच्चस्तरीय समिति गठनाका लागि एकीकृत माओवादी समक्ष दुईवटा सर्त अघि सारेका छन् ।

Prachand-1
उनीहरु ती सर्त माने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समितिको संयोजक मान्न तयार देखिएका छन् । उच्चस्तरीय समितिको कार्यक्षेत्र शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने मात्र हुनुपर्ने र समितिमा प्रमुख तीन दलका नेता मात्र सहभागी हुनुपर्ने सर्त काँग्रेस–एमालेको छ । काँग्रेस– सह–महामन्त्री पूर्णबहादुर खड्काले ती सर्त माने प्रचण्डलाई संयोजक मान्न आफूहरु तयार रहेको बताए ।

एमाओवादीसहित विक्षक्षीले उच्चस्तरीय समिति गठनको माग गर्दै व्यवस्थापिका–संसद बैठक अवरुद्ध गर्दै आएका छन् । माओवादीले आफू नेतृत्वको संघीय गणतान्त्रिक मोर्चा आवद्ध मेसवादी दललाई पनि समितिमा प्रतिनिधित्व गराउनुपर्ने बताएको छ ।

माओवादीले भने शान्ति प्रक्रिया मात्र नभनी संक्रमणकाल अन्त्य नभएसम्म समितिको औचित्य र आवश्यकता रहिरहने जनाएको छ ।

‘शान्ति प्रक्रिया मात्र भनेर समितिको कार्यक्षेत्र खुम्च्याउन खोजिएको छ’, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न र संक्रमणकाल अन्त्यका लागि सहयोग गर्न समिति गठन गर्नुपर्छ, सहमति भएको पनि त्यही हो ।’

काँग्रेस–एमालेले भने संक्रमणकाल अन्त्यको नाममा एमाओवादीले संविधान निर्माण प्रक्रियामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us