काठमाण्डु, १६ भदौ– एमाले कार्यबाहक अध्यक्ष बामदेव गौतमले सभासद् मनोनयनका विषयमा आफूलाई केही थाहा नभएको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा सभासद् मनोनयनबारे माधव नेपाल पक्षले प्रश्न उठाएपछि गौतमले त्यसबारे केही थाहा नभएको जवाफ दिएका हुन् । बैठकमा सचिव योगेश भट्टराईले सभासद् मनोनयन कसको निर्णयबाट भयो ? भन्दै गौतमसँग धारणा मागेका थिए ।
बैठकको अध्यक्षता गरेका गौतमले अध्यक्ष केपी शर्मा ओलीको एकल निर्णयबाट सभासद मनोनयन भएको बताएका थिए । उपचारका लागि दिल्ली गएका ओली फर्किएपछि त्यस विषयमा सोधेर जवाफ दिने उनको भनाइ थियो ।
पार्टीको भागमा परेका ८ सभासद् अपारदर्शी र एकलौटी रुपमा मनोनयन गरेको भन्दै सचिव भट्टराईले ओलीका नाममा पार्टी मुख्यालयमा पत्र दर्ता गराएका थिए ।