परपुरुषसँगको अवैध सम्बन्ध लुकाउन बुहारीद्वारा सासूको हत्या

काठमाण्डु टुडे २०७१ भदौ १६ गते २:३२ मा प्रकाशित

पर्सा,  १६ भदौ –परपुरुषसँगको अवैध शारीरिक सम्बन्ध लुकाउन एक बुहारीले सासूको हत्या गरेको घटना खुलासा भएको छ ।
जिल्लाको सेढवा–२ की ४२ वर्षीया सासू आशादेवी (खनाल) पासवानको २० वर्षीया बुहारी रिन्कु (खनाल) पासवानले पुरुष साथीको सहयोगमा हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
रिन्कुलाई प्रहरीले पक्राउ गरेको छ । उनका सहयोगी भने फरार छन् । भदौं १२ गते बिहान आशाको शव घर नजिक परसवा खोलाको कासँघारीमा धारिलो हतियारले घाँटी रेटेर फालेको अवस्थामा फेला परेको थियो । घरबाट घिर्सादै शव लगिएकाले प्रहरीले रिन्कुमाथि प्रारम्भिक शंका व्यक्त गर्दै अनुसन्धान गरेको थियो ।
प्रहरी उपरीक्षक धिरजप्रताप सिंहका अनुसार मृतकसहित उनको स्थानीय एक व्यक्तिको सम्बन्ध रहेको थियो । आशा पूर्वप्रहरी परिचर अर्जुन खनालकी पत्नी रहेको तर दुवै केही वर्षयता भिन्दै बस्दै आएका थिए । अर्जुन अहिले नवलपरासीमा बस्छन् । यसअवधिमा आशाले स्थानीय पासवान थरका १ पुरुषसँग विवाह गरेकी थिइन् ।
अर्जुन र आशाका छोरा सुरज वैदेशिक रोजगारीका लागि ४ महिनाअघि कतार गएका थिए । त्यसपछि रिन्कुसँग ती पुरुषको शारीरिक सम्बन्ध कायम रहेको खुलेको छ ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us