काठमाण्डु, १५ भदौ– मन्त्रिपरिषदले मनोनित गरेका १७ मध्ये १६ सभासदले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले उनीहरुलाई आइतबार नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा सपथ खुवाएका हुन् । राप्रपा नेपालका तर्फबाट सभासद मनिसिनत भएका गणेश थापा भने सपथ ग्रहणमा थिएनन् । उनको मनोनयनलाई लिएर चर्को विवाद भइरहेको छ ।
संसदको सार्वजनिक लेखा समितिले एन्फामा भएको अनियमिताबारे बयान लिएलगत्तै उनलाई सभासद मनोनयन गरिएको थियो । उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाका सहोदर भाई हुन् । सरकारले शुक्रबार २६ मध्ये कांग्रेसको भागमा परेको ९, एमालेको भागको ८ र राप्रपा नेपालका तर्फबाट एक सभासदको मनोनयन गरेको थियो ।
आइतबार सपथ लिनेमा काँग्रेसबाट मनोनित राधेश्याम अधिकारी, शिव खड्का, पुष्कर आचार्य, रेशम बानियाँ, सुकदेव सुतिहार, सूर्यदेव दास उराव, उमेश श्रेष्ठ र अनिलकुमार रुङटाले सपथ लिएका छन् ।
त्यस्तै एमाले कोटामा मनोनित उदय नेपाली, अग्नि खरेल, गंगा डांगी, निरा धुजु, पेम्बा भोटे, नरेश खरेल डा. राजन भट्टराई, पर्तमान धिमालले पनि आइतबार सपथ लिए ।