इतिहासको सम्मान गर्न सक्नुपर्छः सुनिता डंगोल

काठमाण्डु टुडे २०८१ माघ १० गते १३:५६ मा प्रकाशित

काठमाण्डू, १० माघ– काठमाण्डू महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले इतिहासको सम्मान गर्न सक्नुपर्ने बताएकी छन । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताहमा टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै उपप्रमुख डङ्गोलले यस्तो बताएकी हुन ।

माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै आजबाट उनको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह शुरु गरिएको हो । सो अवसरमा काठमाण्डू महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उहाँको शालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन् ।

तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए ।

सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । कार्यक्रममा बोल्दै काठमाण्डू महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इतिहासको सम्मान गर्नुपर्ने बताइन् ।

टेकुस्थित शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पणपछि बोल्दै उनले इतिहासको सम्मान गर्नुपर्ने बताइन् । उनले समयसँगै देशको लागि योगदान गर्नेहरुको योगदानको कदर गर्न सक्नुपर्ने बताइन् ।

उनले शहीदहरुको योगदानबारेको ज्ञान पुस्तान्तरण हुँदै जानुपर्ने बताइन् । योगदानबारेको चर्चा पुस्तान्तरण भएमात्रै इतिहासलाई सम्मान गर्न सकिने र सच्चा नागरिक भएर काम गर्नसक्ने बताइन् ।

उपप्रमुख डंगोलले भनिन्, ‘इतिहासको सम्मान गर्न सक्नुपर्छ । समयसँगै योगदान दिनेहरु पनि अस्ताउँदै जानुहुन्छ । त्यसैले उहाँहरुको योगदानको कदर गर्नुपर्छ । पुस्तान्तरण हुनुपर्छ । पुस्तान्तरण भएपछि मात्रै इतिहासलाई बुझ्ने मान्छेले, इतिहासलाई सम्मान गर्ने व्यक्तिले आज वर्तमानमा सच्चा नागरिक भएर काम गर्नसक्छ । भविष्यको बाटो कोर्नसक्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us