सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी

काठमाण्डु टुडे २०८१ माघ १० गते १२:४८ मा प्रकाशित

काठमाण्डू, १० माघ– जिल्ला अदालत रुपन्देहीमा सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बहस सुरु भएको छ ।

कार्यालय सुरु भएसँगै लामिछाने उपस्थित भएपछि अदालतमा बहस सुरु भएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिएका छन । बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो ।

सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भएका हुन् । उनको मुद्दा जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा रहेको छ । पक्ष–विपक्षका वकिलहरुले बहस गरेपछि आदेश आउने छ ।

बहस आजै सकिने वा नसकिने भन्न नसकिने श्रेस्तेदार ज्ञवालीले जानकारी दिएका छन । लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पूरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।

सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । पुरक अभियेजनामा १४ जना प्रतिवादी बनेका छन् । २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us