विराटनगर, १५ भदौ– प्रहरीले मोरङबाट दुई नेतासहित २० जुवाडेलाई पक्राउ गरेको छ ।
शनिबार राति मोरङको पथरी-शनिश्चरे नगरपालिकाबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका केन्द्रीय सदस्य अर्जुन तुम्रुक र कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ सुनसरीका पूर्वसभापति विकास केसी पनि छन् ।
पक्राउ परेका अन्य जुवाडेमा झापा दमक-१ का दुर्गा राई, दमक-१३ का दिलिप पाण्डे, तोपगाछी-८ का युवराज रेग्मी, मोरङ उर्लाबारी-५ का राम कार्की, उर्लाबारी-४ का रितिक केसी , मधुमल्ला-२ का गौरीमान राई, राजघाट-९ का विक्रम लिम्बू, सुनसरी धरान–१३ का सुरेन्द्रकुमार थापा र धरान-१६ का अमल राई छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले जुवा खालबाट सात लाख ६८ हजार ७ सय ९९ रुपैयाँ ,मोबाइल फोन २३ थान, खाल एक थान र तीनबुक तासका साथै जुवाडेले प्रयोग गरेको को १ च ७३२४ नम्बरको स्कोरपियो गाडीसमेत बरामद गरेको छ ।
जगतबहादुर राईको घरमा जुवा खेलिरहेको विशेष सूचनाका आधारमा हरी नायव उपरीक्षक प्रभु ढकाल नेतृत्वको टोलीले एक महिलासहित २० जुवाडेलाई पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए । उनीहरुमाथि जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको पोखरेलले जनाए ।