अबदेखि ट्राफिकले सवारीसाधनको चाबी थुत्न नपाइने

काठमाण्डु टुडे २०८१ माघ १० गते १२:१३ मा प्रकाशित

काठमाण्डू, १० माघ– अब देखि ट्रफिक प्रहरीले सवारी जाँचका क्रममा जथाभाबी चाबी थुत्न नपाइने भएको छ । ट्रफिक प्रहरीले सवारी जाँचको क्रममा कानुनविपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने गरेको पाइएपछि परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ ।

व्यक्तिगत सम्पत्ति र दुख दिने नियतले गरिने यस्ता कार्य नगर्न र कानुन बमोजिम मात्र कार्य गर्न प्रहरीलाई आदेशमा गरीएको छ । सडक बिचमा बसेर विदेशी पर्यटकको समेत चाबी खोसेपछि प्रहरी विवादित समेत बनेको थियो । कात्तिक २१ गते पाटन उच्च अदालतमा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध रिट दायर भएको थियो ।

विवेक चौधरीले प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने जस्तो कार्य गैर कानुनी हो र तत्काल यसलाई रोक लगाउनुपर्छ भन्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ प्रहरीले तत्काल सजाय गर्न सक्ने प्रावधान छ र दफा १६० मा दण्ड सजायको प्रावधान रहे पनि जथाभाबी गरेको निवेदनमा उल्लेख छ ।

सवारी चालकको चाबी खोस्ने, जबरजस्ती निकाल्ने जस्तो कार्य गरिँदा गरिमा र अनावश्यक राज्य हस्तक्षेपले स्वतन्त्र जीवन बाँच्ने अधिकारमा हानि पुर्‍याउने अवस्थाको सृजना गर्छ। अर्थात् यो कार्य स्वतः रूपमा नेपालको संविधानको धारा १६ को विपरीत हुन्छ, जसले सम्मानपूर्वक बाँच्न पाउने हकको हनन हुने अवस्थाको सृजना गर्छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us