काठमाण्डू, ९ पुस– सहकारी ठगी कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध बहस गरेको आरोपमा कुटिएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सोही प्रकृतिको अर्को मुद्धाको बहसमा सहभागी हुन रुपन्देही पुगेका छन् ।
लामिछाने आफूविरुद्ध बुटवलस्थित सुप्रिम सहकारी ठगी कसुरमा दायर मुद्धाबारे बयान दिन बुधबार रुपन्देही जिल्ला अदातमा उपस्थित भएका थिए । बयान सकिए पनि थुनछेक बहसका लागि लामिछानेलाई बिहीबार बिहान १० बजे उपस्थित गराउने गरी परिवार र कानून व्यवसायीको जिम्मामा छाडिएको छ ।
त्रिपाठीमाथि केही दिनअघि काठमाण्डुको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्धाको थुनछेक बहसमा सहभागी भएर बाहिरने क्रममा आक्रमण भएको थियो ।
त्यसविरुद्ध नेपाल बार एसोसिएसन आन्दोलनमै उत्रियो । प्रहरीले आक्रमणमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ । त्रिपाठीले आफू सुप्रिम सहकारीका पीडित बचतकर्ताका तर्फबाट बहस गर्न रुपन्देही पुगेको बताए ।