काठमाण्डु, १५ भदौ– सत्तारुढ काँग्रेस र एमालेकै प्रभावशाली नेताले पार्टीका तर्फबाट संविधानसभाको रिक्त २६ सभासद नियुक्तिप्रति आपत्ति जनाएका छन् ।
उनीहरुले पार्टी निर्णयविपरीत जथाभावी नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
रिपोर्टर्स क्लबले आइतबार गरेको साक्षात्कारमा काँग्रेस नेता अर्जुननरसिंह केसीले २६ सभासदको नियुक्ति संस्थागत निर्णयबाट नभएको भन्दै आपत्ति प्रकट गरे ।
उनले सभासद नियुक्त भएकाहरुको नाममा भन्दा केन्द्रीय समितिलाई बाइपास गरेर निर्णय भएकाले प्रक्रियाप्रति आफूहरुको आपत्ति रहेको बताए ।
एमाले उपाध्यक्ष भीम रावलले पार्टीका तर्फबाट संविधानसभामा मनोनित भएका ८ जनाको विषयमा कुनै जानकारी नभएको बताए । उनले त्यसबारे पार्टीभित्र कुनै छलफल नभएको भन्दै आपत्ति जनाए ।
‘पार्टीका तर्फबाट ८ जनाको मनोनित भयो रे भन्ने सुनेको छु’, रावले भने, ‘हाम्रो अध्यक्ष र प्रधानमन्त्रीलाई थाहा होला ।’
कार्यक्रममा एमाओवादी नेता टोपबहादुर रायमाझीले २६ सभासद मनोनयनप्रति विरोध जनाए । उनले मनोमानी ढंगले सभासद नियुक्ति गरेर काँग्रेस–एमालले सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाए ।
उनले सभासद मनोनित गर्ने बेलामा आफूहरुसँग सल्लाह नगरेको भन्दै त्यसबारे चित्तबुझ्दो जवाफ नआएसम्म आफ्नो पार्टीले पाउने ४ सभासदको नाम नपउउने उल्लेख गरे ।
‘२६ सभासदको को मनोनयन मनोमानी ढंगले गरियो । यो सहमतिको होइन, सर्वसत्ताबादको लक्षण हो’, रायमाझीले भने, ‘यसमा स्पष्ट जवाफ नदिएसम्म हाम्रोतर्फबाट नाम दिँदैनौं ।’