काठमाण्डु, १५ भदौ– फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दुई तिहाईको आडमा संविधान जारी गर्न खोजे दुर्भाग्य हुने बताएका
छन् ।
व्यवस्थापिका–संसदको आइतकारको बैठकमा विशेष समय लिएरु बोल्दै उनले दुई तिहाईले बनाउने संविधान काम नलाग्ने दाबी गरे । सत्तारुढ काँग्रेस–एमाले दुई तिहाईको आडमा संविधान जारी गर्ने गलत बाटो हिंडेको उनको भनाइ थियो ।
‘कांग्रेस र एमाले गलतबाटोमा हिँड्दैछ’, गच्छदारले भने, ‘दुई तिहाइ बहुमतका आडमा बनाउने संविधान काम लाग्दैन ।’ उनले काँग्रेस–एमाले संविधान निर्माणमा गम्भीर नबनेको आरोप लगाए ।
काँग्रेस–एमालेका शीर्ष नेता बस्ने सिट खाली रहेको तर्फ सभाध्यक्ष सुवास नेम्वाङको ध्यानाकर्षण गराउँदै उनले भने, ‘यसले पनि प्रष्ट हुन्छ सभामुख महोदय, काँग्रेस–एमाले संविधान निर्माणमा गम्भीर छैनन् ।’
गच्छदारले मधेस केन्द्रित दल संविधानसभाको चौथो शक्ति रहेको भन्दै माइनास गरेर जान खोजिए परिणाम गम्भीर हुने चेतावनी दिए । मधेसवादी दलको समेत प्रतिनिधित्व हुने गरी उच्चस्तरीय राजनीतिक समिति गठन गर्नुपर्ने उनको माग थियो ।